काठमाडौँ- एक सय ६५ जनाभन्दा बढीको ज्यान गएको र सयौँ मानिस बेपत्ता भएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिसँग जुधिरहेको नेपाललाई विश्वभरका विभिन्न देश तथा संघसंस्थाले नगद, राहत सामग्री तथा अन्य सहायता पठाउन थालेका छन्।
भारत सरकारले रसुवाको भोटेकोशी क्षेत्रका बाढीपीडितका लागि पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ लाई बिहीबार बिहान उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्।
यसअघि भारतीय परराष्ट्रमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत सामग्री तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिएका थिए।
जयशंकरले बाढीमा ज्यान गुमाएकाका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।
भारतले पठाएको राहत सामग्रीमा अस्थायी आश्रयस्थलका सामग्री, कम्बल, सरसफाइका सामग्री, सौर्य बत्ती तथा औषधिलगायत छन्।
चीनले नेपालका लागि आपत्कालीन राहत सामग्री र नगद सहायता उपलब्ध गराउन समन्वय गरिरहेको नेपालका लागि चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्।
युरोपेली संघ (ईयू) ले नेपाललाई थप सहायता परिचालन गर्न तयार रहेको जनाएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघले नेपाल रेडक्रस सोसाइटीको बाढी प्रतिकार्यका लागि १० लाख स्विस फ्र्यांक (करिब १२ लाख ४० हजार अमेरिकी डलर) आपत्कालीन सहायता उपलब्ध गराउने जनाएको छ।
अमेरिकाले नेपालमा विपद् प्रतिकार्यसम्बन्धी एक सल्लाहकार पठाउने र पाँच लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि औषधि तथा बहुउद्देश्यीय त्रिपाललगायत अत्यावश्यक आपत्कालीन स्वास्थ्य सामग्री नेपाल पठाइसकेको जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक्समार्फत चीन र नेपालमा आएको भीषण बाढीबाट आफू गहिरो दुःखी भएको बताएका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले चीन र नेपालमा भएको मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दै उद्धारकर्मीहरूको प्रशंसा गरेका छन्। उनले जर्मनी सहयोगका लागि तयार रहेको बताएका छन्।


