काठमाडौँ- ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीका प्रतिनिधिबीच शनिबार अर्थात भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो। दुर्गा प्रसाई समूहसँग सरकारले यसअघि सहमति गरेको थियो। जसमा लघुवित्त ऋणीका माग समेत थिए।
सहमति पश्चात् आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।
विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको छ।
प्रकाशित: ७ भदौ २०८३ १०:४७ | Sunday, August 23, 2026
प्रतिक्रिया


