काठमाडौँ- रसुवा बाढीले जनतामा तनाव सिर्जना भएको छ। आकस्मात आएको बाढीले ठूलै जनधनको क्षति पुर्याएको छ। फेरि बाढी आउने भय समेत पलाएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान तथा पूर्व सूचना महाशाखाले नुवाकोट क्षेत्रबाट निरन्तर थप ठूलो बाढी नआउने पुष्टि गरेको छ।
महाशाखाले हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठुलो बाढी आउने कुनै विश्वसनीय आधार नदेखिएको भन्दै नागरिकहरूलाई संयमित रहन र अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको हो ।
विभिन्न माध्यम र फोनमार्फत थप ठूलो बाढी आउन लागेको जानकारीहरू प्राप्त भइरहेको सन्दर्भमा महाशाखाले एक विज्ञप्ति जारी गर्दै स्थिति स्पष्ट पारेको हो । महाशाखाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेका कारण नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना देखिएको छैन । त्यसैले आज बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकहरूलाई अनावश्यक रूपमा नआत्तिन र संयमित रहन महाशाखाले हार्दिक अनुरोध गरेको छ ।
महाशाखाले आगामी समयमा नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी तुरुन्त जानकारी गराउने जनाएको छ । यस्तो परिस्थितिमा एसएमएस लगायत उपलब्ध विभिन्न सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना सम्प्रेषण गरिनेछ ।
महाशाखाले आधिकारिक सूचना र स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न र सुरक्षित रहन आवश्यक सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।



