प्रधानमन्त्री बालेनको पहिलो राजनीतिक भेट राजावादी दलसँग

हिमाल प्रेस ३२ असार २०८३ १७:१६ | Thursday, July 16, 2026
6
SHARES
प्रधानमन्त्री बालेनको पहिलो राजनीतिक भेट राजावादी दलसँग

काठमाडौँ- प्रधानमन्त्री बनेपछि वालेन्द्र शाह (बालेन) ले बिहीबार पहिलो औपचारिक भेट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग गरेका छन्। प्रधानमन्त्रीका रूपमा उनको पहिलो दलगत भेट राजावादी एजेन्डा बोकेको राप्रपासँग भएपछि राजनीतिक वृत्तमा त्यसलाई चासोका साथ हेरिएको छ।

सिंहदरबारमा भएको भेटवार्तामा संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदल, समसामयिक राजनीतिक अवस्था तथा जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो।

भेटमा राप्रपाले संविधान संशोधन प्रक्रियामा ससर्त सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष लिङ्देनले सरकारले संघीय शासन व्यवस्थाका केही प्रावधान परिमार्जन वा पुनर्संरचना गर्ने उद्देश्य राखेमा आफ्नो पार्टी रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले भने कार्यदलको उद्देश्य संविधान संशोधन गर्ने वा संशोधनका एजेन्डा निर्धारण गर्ने नभई विभिन्न पक्षसँग व्यापक परामर्श गरेर संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने मात्र रहेको स्पष्ट पारेका थिए। छलफलका क्रममा राप्रपाले स्वास्थ्य बिमामा देखिएका समस्या, किसानलाई मलको अभाव तथा वितरण व्यवस्थापन, शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत सेवामा लगाइएको करबारे सरकारको ध्यानाकर्षण गराएको लिङ्देनले जानकारी दिए।

त्यसैगरी विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूको स्वास्थ्य उपचार, आवास तथा दैनिक जीवनसँग सम्बन्धित समस्याको समाधानका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उनले बताए।

भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast