मकवानपुर- बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उनले बताए । मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई राजीनामा बुझाउने उनको भनाई छ ।
‘अहिलेको बदलिएको सत्ता राजनीतिको परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझियो । प्रस्तुत अवस्थामा एमाले गठबन्धनमा जबरजस्त बसिरहन नपर्ने निष्कर्ष सहित मन्त्री मन्त्रीहरूलाई निर्देशन दिएको हो’ उनले भने ।
बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री बानियाँको नेतृत्वमा हाल प्रदेशमा रहेका १४ मन्त्रालयलाई ८ कायम गरिएको छ । साउन १ गतेबाट उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिएको छ भने ६ मन्त्रीलाई विना विभागीय मन्त्रीका रूपमा राखेका छन् ।
बागमती सरकारमा एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी मन्त्री रहेका छन् ।

