काठमाडौँसहित विभिन्न स्थानमा मुसलधारे वर्षा, आज दिउँसो पनि पानी पर्ने

हिमाल प्रेस २१ असार २०८३ ६:१८ | Sunday, July 5, 2026
6
SHARES
काठमाडौँसहित विभिन्न स्थानमा मुसलधारे वर्षा, आज दिउँसो पनि पानी पर्ने

काठमाडौँ– मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी वर्षा) भएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।

विभागका अनुसार आज राति अभिलेख भएको वर्षा मापनमा पछिल्लो २४ घण्टामा काठमाडौँको कीर्तिपुरमा ७५ मिलिमिटर र बबरमहलमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ।

यस्तै, काठमाडौँको बूढानीलकण्ठमा ४४, सुन्दरीजलमा ३० र नागर्जुनमा ३६ मिलिमिटर वर्षा भएको छ । यस्तै, ललितपुरमा ११ र भक्तपुरमा २८ मिलिमिटर वर्षा भएको छ।

यस्तै, सोलुखुम्बु र सङ्खुवासभामा पनि भारी वर्षा भएको छ। रुकुम पश्चिममा ५९, दाङमा ६७, कास्कीमा ६१, सिन्धुपाल्चोकमा ६५ र लमजुङमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ।

यस्तै, दैलेख, जाजरकोटर जुम्ला, कालीकोट, प्यूठानलगायत जिल्लामा पनि भारी नजिक वर्षा भएको छ । अहिले पनि काठमाडौँ, बझाङ, पर्वत, सिन्धुपाल्चोकलगायत जिल्लामा वर्षा भइरहेकै छ।

आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ।

भोलि आइतवार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

प्रकाशित: २१ असार २०८३ ६:१८ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast