संकटमा जनता ‘टुहुरो’ भएको भन्दै आरेन राईले भने : देश चलाउन नसक्ने भए जिम्मेवारीबाट हट्नूँ

हिमाल प्रेस १४ साउन २०८३ १२:१६ | Thursday, July 30, 2026
16
SHARES
संकटमा जनता ‘टुहुरो’ भएको भन्दै आरेन राईले भने : देश चलाउन नसक्ने भए जिम्मेवारीबाट हट्नूँ

काठमाडौँ- श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले सरकार अहिले बेखबर भएर बस्ने नभई बाहिर निस्किएर सूचना संकलन, जनतासँग संवाद र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए । उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए ।

‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ,’ सांसद आरेन राईले भने, ‘रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।’

सांसद राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै या त सक्रिय रूपमा काम गर्न, नभए देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न आग्रह गरे । ‘यो ढंगले अभिभावक विहीन बनेर देश चलाउन पाइन्न । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न,’ सांसद राईले भने, ‘यसकारणले सरकार कि त निस्किनुपर्यो, कि त सक्तिनँ भनेर हात ठडाउन पर्यो ।’

सांसद राईले सुनसरी घटनापछि सर्वदलीय बैठक राखेकामा रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरे । सामाजिक सद्भाव कायम गर्न सबै लाग्नुपर्ने र यसको नेतृत्व सरकारले लिनुपर्ने उनले बताए ।

प्रकाशित: १४ साउन २०८३ १२:१६ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast