सुनसरीमा घटेको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकार समक्ष राप्रपाको माग

हिमाल प्रेस १२ साउन २०८३ १४:३२ | Tuesday, July 28, 2026
10
SHARES
सुनसरीमा घटेको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकार समक्ष राप्रपाको माग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाका क्रममा एक नेपाली युवाले दुःखद रूपमा ज्यान गुमाएको तथा अन्य केही व्यक्तिहरु घाइते भएको घटनाले अत्यन्त मर्माहत र चिन्तित बनाएको जनाएको छ। आज विज्ञप्ति निकाल्दै मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग राप्रपाले जोडदार माग गरेको छ।

यस घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गरी कानुनविपरीत हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सदभाव बिथोल्ने जुनसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ भन्ने माग राप्रपाको छ।

‘विशेषतः तराई–मधेसका विभिन्न क्षेत्रमा चाडपर्व वा धार्मिक अवसरका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद उत्पन्न हुने क्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक घटनाको निशानामा हिन्दु समुदायलाई बनाइनु दुःखद, आपत्तिजनक र रहस्यमय छ। हिन्दु समुदाय लक्षित घटनाहरुको हामीले शुरुआती अवस्थादेखि नै अत्यन्त सुक्ष्म ढंगबाट हेरिराखेका छौं। धार्मिक संवेदनशीलतामाथि प्रहार भइरहेको यस्ता घटनाको कारण, पृष्ठभूमि, योजनाबद्ध पक्ष, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वसमेतको गहिरो अध्ययन गरी समस्याको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारसंग राप्रपा आग्रह गर्दछ।’ अध्यक्ष राजेन्द्र लिङ्देनले भने,‘ पटकपटक दोहोरिरहेको यस्ता घटनालाई सधैंको लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाइ सरकारले तत्काल संवादको थालनी गरोस् र आगामी दिनमा यसप्रकारका घटना नहुने सुनिश्चितता प्रदान गरोस् भन्ने राप्रपाको धारणा रहेको छ। प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्दछ। तर, श्रृंखलाबद्ध हिंसात्मक घटनाप्रति राज्यको उदासीनताका कारण देश द्वन्द उन्मुख हुने सम्भावनाले हामीलाई अति चिन्तित तुल्याएको छ।’

राप्रपा हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति कुनै पनि रूपमा स्वीकार नस्वीकार्ने लिङ्देनले बताएका छन्। ‘सदियौंदेखि कायम रहेको धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सदभाव, विधिको शासन र नागरिक सुरक्षाको पक्षमा दृढतापूर्वक उभिँदै आम जनतामा शान्ति, सुरक्षा र न्यायको प्रत्याभूति गराउन आवश्यक सम्पूर्ण कदम तत्काल चाल्न सरकारसंग पुनः आग्रह गर्दछु। साथै, परिस्थितिको संवेदनशीलतालाई ध्यान दिई सामाजिक एकता, आपसी सदभाव र संयम कायम राख्न आम जनसमुदायलाई अपील गर्दछु ।’ उनले भनेका छन्।

 

प्रकाशित: १२ साउन २०८३ १४:३२ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast