पोखरा – पोखरा प्रज्ञा–प्रतिष्ठान कुलपतिमा कवि एवं उपन्यासकार सरस्वती प्रतीक्षा सिफारिस भएकी छन्।
यसैगरी, उपकुलपतिमा तिलक पुन पुर्जा र सदस्य–सचिवमा जीवन दाहालको नाम सिफारिस गरिएको छ।
अघिल्ला कुलपति पदमराज ढकाल नेतृत्वको कार्यकाल सकिएपछि प्रतिष्ठानमा करिब डेढ वर्षसम्म पदाधिकारी रिक्त थियो।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वको सिफारिस समितिले कुलपति, उपकुलपति र सदस्य–सचिवसहित प्राज्ञसभा सदस्यतर्फ कुल १७ जनाको नाम सिफारिस गरेको हो।
तीमध्ये सात जनालाई प्रज्ञा–प्रतिष्ठानको परिषद् सदस्य सिफारिस गरिएको हो।
बुधबार उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मनोनीत भएको पत्र प्रदान गर्ने कार्यक्रम छ। सिफारिस सदस्यहरुमा भने तीर्थ श्रेष्ठ र ज्ञानबहादुर गुरुङ थिए।
‘हामीहरुले १७ जना प्राज्ञ सभा सदस्यको नाम टुंगो लगायौँ। तीमध्येबाट कुलपति, उपकुलपति र सदस्य–सचिवको नामसहित ७ जनालाई परिषद् सदस्य छनोट गरी सिफारिस गरेका छौँ,’ संयोजक गुरुङले भनिन्, ‘सिफारिस भएकामध्ये कसैले आफू नबस्ने भनेमा मेयर सा’बले नै कसलाई चयन गर्ने भनी जिम्मा लगाएका छौँ।’
परिषद् सदस्यहरुमा हरेराम जोजिजू, सीता पहारी, दिलीप गायक र श्रीजंग गुरुङको नाम पनि छ।
पोखरा महानगरको कला, भाषा, साहित्य, संस्कृति तथा सिर्जनात्मक गतिविधिको संरक्षण, प्रवद्र्धन र विकासका निम्ति प्रतिष्ठान गठन गरिएको थियो।
गण्डकी प्रज्ञा–प्रतिष्ठानमा पनि दोस्रो कार्यकालका लागि २२ असारमा कुलपति प्राडा. कुसुमाकर न्यौपाने रहने गरी २४ सदस्यीय नयाँ पदाधिकारी मनोनीत भएका छन्।
तर, नियुक्तिको विषयमा भने समावेशी नभएको भन्दै उच्च अदालत पोखरामा रिट परेको छ।


