कांग्रेस नेता मीन विश्वकर्मा।
काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते आयोजना हुने राष्ट्रिय भेला सफल बनाउन विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाको परिचालनका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ।
काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले भेलाको तयारीलाई व्यवस्थित बनाउन १० जना नेतालाई विभिन्न क्षेत्रको समन्वय र परिचालनको जिम्मेवारी दिएको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।
उनका अनुसार नेपाल विद्यार्थी संघको परिचालनको जिम्मेवारी कुन्दन काफ्लेलाई, तरुण दलको जितजंग बस्नेतलाई, नेपाल महिला संघको उषा राउतलाई तथा नेपाल दलित संघको यमुना विश्वकर्मा खड्कालाई दिइएको छ।
नेपाल किसान संघको परिचालनका लागि गणेश तिमिल्सिना, लोकतान्त्रिक आदिवासी जनजाति संघको परिचालनका लागि जगत बराम तथा नेपाली जनसम्पर्क समिति (विदेश) को समन्वयका लागि किरण पौडेललाई जिम्मेवारी तोकिएको छ।
काठमाडौँ जिल्ला सम्पर्क समिति र खेलकुद क्षेत्रको समन्वय मोहनबहादुर बस्नेतले गर्नेछन् भने बुद्धिजीवी परिचालनको जिम्मेवारी मीन विश्वकर्मा र ट्रेड युनियन समन्वयको जिम्मेवारी हरिशरण नेपालीलाई दिइएको छ।
बैठकले आवश्यकताअनुसार अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि पनि छुट्टाछुट्टै समिति गठन गरी परिचालन गर्ने निर्णय गरेको विश्वकर्माले बताए।
राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउने तयारी पनि अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिको नामावली तयार पार्ने काम भइरहेको र बुधबारसम्म त्यसलाई अन्तिम रूप दिइने उनले जानकारी दिए।
संस्थापन इतर समूहले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, नीतिगत सुधारका विषयमा छलफल गर्ने तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गर्न लागेको दाबी गरेको छ।


