काठमाडौँ- गएरातिबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड र काठमाडौं माछापोखरी–नुवाकोट सडकखण्डमा सवारी आवागमन खुलेको छ ।
गएराति नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल नजिक पहिरो खसेर सवारी आवागमन बन्द भएको थियो । आज बिहान साढे ६ बजे पहिरो हटाएसँगै सवारी अवागामन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
नुवाकोटको ककनी नजिक ठूलो खोला भन्ने स्थानमा खसेको पहिरो पनि हटाएर आज बिहानबाट सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
गएको चौबीस घण्टामा काठमाडौं उपत्यकाका विभिन्न नाकाहरु हुँदै ८ हजार सवारी साधनमा ४६ हजार ८०४ जना यात्रीहरु काठमाडौं उपत्यका भित्रिएका र ७ हजार ५४३ वटा सवारी साधनमा ४५ हजार ६२ जना यात्री उपत्यकाबाट बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


