घडी भवन, त्रिवि कीर्तिपुर।
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्।
उनीहरू आइतबार बिहान पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ।
गत साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको थियो।
प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले पनि ‘साइबर ब्यूरो’लाई अनुसन्धान एवं कारबाहीका लागि पत्राचार गरेको थियो।
परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्राडा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ।
समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा छन्।
समितिलाई छानबिन सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।


