चितवन- चितवनको माडी नगरपालिकास्थित ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सोमेश्वरगढीमा नेपाल एकीकरण अभियानका योद्धा काजी अभिमानसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ। शालिक अनावरणसँगै यहाँ निर्माणाधीन ऐतिहासिक पार्कले पनि पूर्णता पाएको छ।
माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा निर्माण गरिएको शालिक नेपाली सेना मध्य पृतनाका पृतनापति उपरथी विष्णुकुमार खड्काले अनावरण गरे। सैनिक पोसाकमा बायाँ हातमा ढाल, दायाँ हातमा तरबार र कम्मरमा खुकुरीसहित उभिएको शालिकले नेपाल एकीकरणको इतिहास र राष्ट्रिय स्वाभिमानको सन्देश दिने विश्वास उनले व्यक्त गरे।
समुद्र सतहबाट करिब ८८० मिटर उचाइमा रहेको सोमेश्वरगढीबाट माडी उपत्यका, चुरे पर्वतमाला तथा आसपासका क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। ऐतिहासिक, धार्मिक र सामरिक महत्वका कारण यो स्थल देशकै महत्वपूर्ण सम्पदामध्ये एक मानिन्छ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले राष्ट्रिय झण्डोत्तोलन गरे भने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले शालिक परिसरमा निर्माण गरिएको सोमेश्वर ढुंगेधाराको उद्घाटन गरे। उपप्रमुख खेमप्रसाद महतोले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, सुरक्षा निकाय, कर्मचारी, स्थानीयवासी तथा बुद्धिजीवीको उपस्थिति थियो।
नगरप्रमुख महतोले शालिक निर्माणसँगै माडीको ऐतिहासिक सम्पदाको संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनले बागमती प्रदेश सरकार, माडी प्रज्ञा प्रतिष्ठान, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाको सहयोगप्रति आभार व्यक्त गर्दै बस्न्यातको इतिहासको खोज, अनुसन्धान र दस्तावेजीकरणमा माडी प्रज्ञा प्रतिष्ठानको उल्लेखनीय भूमिका रहेको बताए।
उनका अनुसार पार्क निर्माण तथा व्यवस्थापनमा नेपाली सेनाले प्रतिकूल परिस्थितिमा पनि निरन्तर खटेर काम गरेको छ भने आवश्यक निर्माण सामग्री उपलब्ध गराउने जिम्मेवारी माडी नगरपालिकाले निर्वाह गरेको थियो।
नगरप्रमुख महतोले सोमेश्वरगढी र सोमेश्वर कालिका मन्दिर माडीका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएका महत्वपूर्ण स्थल भएको उल्लेख गरे। विगतमा महामारी वा खडेरी पर्दा स्थानीयले कालिका मन्दिरमा पूजा तथा भाकल गर्ने परम्परा रहेको स्मरण गर्दै गढी र मन्दिरलाई समेटेर धार्मिक तथा ऐतिहासिक पर्यटनको विकास गर्नुपर्नेमा उनले जोड दिए।
सोमेश्वरगढी नेपालका १०० पर्यटकीय गन्तव्यमध्ये एकमा सूचीकृत भएपछि यसको महत्व अझ बढेको उल्लेख गर्दै उनले माडीलाई पर्यटकीय नगरी घोषणा गर्न प्रदेश सरकारसँग निरन्तर पहल भइरहेको जानकारी दिए।
प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले सोमेश्वरगढी नेपालको गौरवपूर्ण ऐतिहासिक स्थल भएको उल्लेख गर्दै यसको संरक्षण, पूर्वाधार विकास र ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा प्रदेश सरकारले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार नेपालका प्रथम सेनापति काजी शिवरामसिंह बस्न्यात र वीराङ्गना शुरप्रभा बस्न्यातका साहिला सुपुत्र अभिमानसिंह बस्न्यातको जन्म विसं १८०१ फागुन ७ गते गोरखामा भएको थियो। उनले विसं १८१२ मा सिरानचोक अभियानबाट सैनिक जीवन सुरु गरी नेपाल एकीकरण अभियानका महत्वपूर्ण युद्धहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो।
मकवानपुर, काठमाडौँ, पाटन र भक्तपुर विजयसँगै माझकिरात, चौदण्डी, विजयपुर र लिम्बुवान हुँदै नेपालको पूर्वी सिमाना टिस्टासम्म विस्तार गर्ने अभियानमा उनको महत्वपूर्ण योगदान रहेको कार्यक्रममा जानकारी दिइयो। मकैडाँडाको युद्ध तथा नेपाल-तिब्बत युद्धमा समेत उनले उल्लेखनीय नेतृत्व गरेको बताइएको छ।
इतिहासअनुसार समुद्र सतहबाट ८८० मिटर उचाइमा चुरे पर्वतमालाको दक्षिणी शृङ्खलामा रहेको सोमेश्वरगढी तत्कालीन नेपालको दक्षिणी प्रतिरक्षा प्रणालीको प्रमुख केन्द्र थियो। विसं १८३४ मा काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा यो गढी तत्कालीन तनहुँ राज्यबाट विजय गरी नेपालमा समाहित गरिएको थियो। उक्त विजयले नेपालको दक्षिणी सीमा सुरक्षालाई बलियो बनाउँदै एकीकरण अभियानलाई थप मजबुत बनाएको इतिहासमा उल्लेख छ।
उपरथी खड्काका अनुसार बस्न्यातले सैनिक नेतृत्वसँगै राज्य प्रशासन,आर्थिक व्यवस्थापन र शासन सञ्चालनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राष्ट्रसेवामा समर्पित उनको विसं १८५७ असार १३ गते काला वञ्जर क्षेत्रमा निधन भएको थियो।
कार्यक्रममा वक्ताहरूले काजी अभिमानसिंह बस्न्यातको योगदान नेपालको सैनिक इतिहास, राष्ट्रिय सुरक्षा र एकीकरण अभियानको महत्वपूर्ण अध्यायका रूपमा सदैव स्मरणीय रहने धारणा व्यक्त गरेका थिए।



