प्रतिनिधिमूलक तस्बिर
सिरहा- सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा शुक्रबार प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ।
घटनामा एक भारतीय नागरिक प्रहरीको गोली लागेर घाइते भएका छन् भने अन्य केही कारोबारी फरार भएका छन्।
लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा पुगेको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेका थिए। उक्त गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ।
आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। तीमध्ये एक गोली भारतको बिहार राज्य, मधुबनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको थियो। घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका अब्दुल कलाम उक्त समूहका मुख्य कारोबारी हुन्। उनीहरूले लामो समयदेखि भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागुऔषध तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अब्दुलको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ। घटनामा संलग्न अन्य दुई/तीन जना फरार रहेकाले उनीहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




