वीरमा डा.पियुष दाहालको नेतृत्वमा गणेश नेपालीको उपचार, भारत नलगिने

हिमाल प्रेस २६ असार २०८३ ७:१४ | Friday, July 10, 2026
26
SHARES
वीरमा डा.पियुष दाहालको नेतृत्वमा गणेश नेपालीको उपचार, भारत नलगिने गृहमन्त्री सुधन गुरुङ वीर अस्पतालमा।

काठमाडौँ- सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ।

उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो।

उनलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुधन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए।

सरकारले उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै व्यहोर्ने बताएको थियो।

भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो। तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो।

चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन्। त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) गएरातिदेखि निरन्तर खटिएका छन्।

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा.पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा.अपार लामिछाने, क्रिटिकल केयरका डा.निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा.रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको जीवन रक्षाका लागि खटिएको छ।

चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधीहरू चलाइरहेको छ।

प्रकाशित: २६ असार २०८३ ७:१४ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast