रास्वपाका सांसदहरूलाई क्षेत्रीय भ्रमण ‘रणनीतिक अभियान’ बनाउन पाँचबुँदे निर्देशन

हिमाल प्रेस ५ साउन २०८३ १४:५५ | Tuesday, July 21, 2026
6
SHARES
रास्वपाका सांसदहरूलाई क्षेत्रीय भ्रमण ‘रणनीतिक अभियान’ बनाउन पाँचबुँदे निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्लाको भ्रमण थप व्यवस्थित, समन्वयात्मक र परिणाममुखी बनाउन पाँचबुँदे निर्देशन जारी गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सांसदहरूलाई पठाएको परिपत्रमा संघीय संसद् र भुइँ तहका नागरिकबीचको जीवन्त संवादलाई संस्थागत गर्न निर्वाचन क्षेत्रका भ्रमणलाई औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा सीमित नराख्न आग्रह गरिएको छ। परिपत्रमा यस्ता भ्रमणलाई पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जनअभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’का रूपमा अघि बढाउनुपर्ने उल्लेख छ।

परिपत्रमा कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित पार्टी समितिलाई आधिकारिक रूपमा जानकारी गराउन तथा आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र कार्यक्रम भए सम्बन्धित सांसद र पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्न निर्देशन दिइएको छ।

स्थानीय समितिसँग पूर्वछलफल गरी त्यस क्षेत्रका ज्वलन्त मुद्दा पहिचान गर्न, ती विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी प्राथमिकताका साथ अघि बढाउन पनि सांसदहरूलाई भनिएको छ।

रास्वपाले कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको नेतृत्व र अपनत्व सुनिश्चित गर्न तथा जनपरिचालनमा स्थानीय संगठनलाई सक्रिय भूमिका दिन पनि निर्देशन दिएको छ।

भ्रमण तथा कार्यक्रमलाई तडकभडक र अनावश्यक खर्चबाट मुक्त राख्दै मितव्ययितालाई प्राथमिकता दिन तथा सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न आग्रह गरिएको छ।

परिपत्रमा निर्वाचन क्षेत्रबाट प्राप्त जनसुझाव, गुनासा र स्थानीय समितिका प्रतिवेदनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी संसदीय दलमा पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

महामन्त्री आचार्यले सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक रहेको उल्लेख गर्दै सुव्यवस्थित र समन्वयात्मक प्रयासबाट मात्रै दलको संस्थागत परिपक्वता र जनताप्रतिको जवाफदेहिता थप सुदृढ हुने बताएका छन्।

यी हुन् पाँचबुँदे निर्देशन

१. संस्थागत समन्वय र पूर्वसूचना : कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुहुन। सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भएमा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्न गराउनुहुन।

२. स्थानीय मुद्दाको प्राथमिकीकरण : भ्रमणका क्रममा आयोजना हुने अन्तर्क्रियाहरूमा स्थानीय समितिसँग पूर्व-छलफल गरी, त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दाहरू पहिचान गर्न। ती स्थानीय समस्याहरूलाई समाधानका लागि तत् तत् निकायसँग विधिवत् समन्वय गर्न कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्ने।

३. सांगठनिक अपनत्व र जन-परिचालन : कार्यक्रमको मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी गर्न।

४. मितव्ययिता र सुशासन : भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राख्दै, स्रोत-साधनको मितव्ययी उपयोग गरी सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न।

५. नीतिगत पृष्ठपोषण प्रणाली : निर्वाचन क्षेत्रका नागरिकमाझ जाने क्रममा प्राप्त जन-सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत रिपोर्टिङलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न।

प्रकाशित: ५ साउन २०८३ १४:५५ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast