पुस्तक चर्चा

ओखलढुंगाको तथ्य र इतिहासको दस्तावेज

विवेक विवश रेग्मी ९ साउन २०८३ १९:३६ | Saturday, July 25, 2026
10
SHARES
ओखलढुंगाको तथ्य र इतिहासको दस्तावेज

कुनै ठाउँलाई बुझ्न त्यसको भूगोल मात्र होइन, इतिहास, राजनीति, संस्कृति र त्यहाँका मानिसका संघर्षलाई पनि बुझ्न आवश्यक हुन्छ। पूर्वी नेपालको पहाडी जिल्ला ओखलढुंगा यस्तै ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्त्व बोकेको जिल्ला हो।

ओखलढुंगा भन्नेबित्तिकै सिद्धिचरण श्रेष्ठ, व्याकुल माइलादेखि बद्री भिखारी हुँदै सीमा आभाससम्म सम्झिन्छु। ओखलढुंगामा जन्मिएर साहित्य, गीत, संगीतमा योगदान गर्ने दर्जनौँ नामहरू स्मरण हुन्छन्। ओखलढुंगाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। लेखक कुम्भराज राईद्वारा लिखित ‘ओखलढुंगा (तथ्य र इतिहास)’ पुस्तक पढेपछि ओखलढुंगाको इतिहासबारे जानकारी हुन्छ।

चार खण्डमा विभाजित यस पुस्तकमा राजनीति, ऐतिहासिक स्थल, दस्तावेज तथा व्यक्ति–अन्तरवार्ता गरी विविध विषय समेटिएका छन्। लेखकले इतिहासका औपचारिक स्रोतसँगै मौखिक परम्परा, पुराना दस्तावेज, स्थानीय स्मृति र प्रत्यक्ष अन्तर्वार्तालाई आधार बनाएर सामग्री प्रस्तुत गरेका छन्। यही कारण पुस्तक इतिहासको संकलन सँगै स्थानीय समाजको सामूहिक स्मृतिको अभिलेख पनि बनेको छ।

पुस्तकको थालनी ओखलढुंगाको नामकरणसँग सम्बन्धित एउटा रोचक लोककथाबाट छ। काजी भीम मल्लले ठूलो सैनिक दलसहित ओखलढुंगामा विजय प्राप्त गरेपछि सेनाका लागि खाद्यान्नको अभाव भयो। त्यस समयमा स्थानीयले शत्रुलाई कमजोर बनाउन घरघरमा अन्न लुकाउने प्रचलन रहेकाले भीम मल्लले गाउँबाट धान संकलन गराएका थिए। ढिकी वा काठको ओखल नभएको अवस्थामा एउटा ठूलो खोपिल्टो परेको ढुंगालाई ओखलका रूपमा प्रयोग गरी त्यहीँ धान कुटेर सैनिकलाई खुवाइएको उल्लेख गरिएको छ। निरन्तर प्रयोगका कारण उक्त ढुंगाको खोपिल्टो अझ गहिरो बनेको र त्यसैबाट ‘ओखलढुंगा’ नाम रहन गएको भन्ने जनविश्वासलाई लेखकले प्रस्तुत गरेका छन्। उक्त प्रसंगले ओखलढुंगाको नामकरणलाई ऐतिहासिक तथ्यभन्दा बढी लोकविश्वास र मौखिक परम्परासँग जोडेर व्याख्या गरेको देखिन्छ। साथै, यस कथाले त्यस क्षेत्रको पुरानो किराँती गढीको पहिचान क्रमशः ओझेलमा परेको संकेत पनि गर्छ। यद्यपि, नामकरणसँग जोडिएको उक्त ढुंगा वास्तवमा कहाँ थियो वा कुन ढुंगा थियो भन्ने विषय अनुसन्धानकै विषय रहेको संकेत पनि गरेका छन्।

चार खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा राजनीति अन्तर्गत सात वटा विषयलाई समेटिएको छ। यसैगरी ऐतिहासिक स्थल खण्डअन्तर्गत ६ वटा विषयलाई केन्द्रमा राखी चर्चा गरिएको छ। यस्तै दस्तावेज खण्डमा चार र व्यक्ति तथा अन्तरवार्ता खण्डमा ११ जनासँगको कुराकानीलाई लेखकीय शैलीबाट प्रस्तुत गरिएको छ।

पुस्तकको पहिलो खण्डमा ‘काजी भीम मल्ल र ओखलढुंगा’, ‘२००७ को ओखलढुंगा क्रान्ति र मुगाधन राई’, ‘ओखलढुंगा कांग्रेसको विगत र वर्तमान’, ‘टिम्बुरबोटे काण्ड र कप्तान थापा’, एलबी गुरुङको टिम्बुरबोटे बयान’, ‘को थिए सातसल्लेमा मारिएका ?’ र ‘ओखलढुंगा कम्युनिस्टको सारसंक्षेप’ जस्ता अध्याय समेटिएको छ।

दोस्रो खण्डमा ‘ओखलढुंगाका ऐतिहासिक गढी’, ‘मान्छे थुन्ने चौरासे घर’, ‘टक (पैसा) काट्ने विगु टक्सार’, ‘खरको छानोबाट सुरु भएको मिसन अस्पताल’, ‘दुई शताब्दी पुरानो नर्मदेश्वर मन्दिर’ र ‘जिल्लाको पहिलो स्कुल (पोकली)’ अध्याय समेटिएको छ।

तेस्रो खण्डमा ‘पृथ्वीनारायण शाहको पत्र’, ‘५२ वर्ष अघिको रेडियो फर्माइस’, ‘राणाकालको हातकलमी’ र ‘मानेभन्ज्याङका अन्तिम मुखिया कमलसिं’ संग्रहित छन्।

अन्तिम खण्डमा ‘बिर्सिइँदै ज्ञानदिलदास’, ‘दिलराम लामिछाने’, ‘गौहर्क राई’, ‘महेश कोर्मोचा’, ‘मेघबहादुर श्रेष्ठ’, ‘सिंहराज गुरुङ’, ‘अगनसिंह राई’, ‘साहस र न्यायकी प्रतिमूर्ति डाटी शेर्पा’, ‘मेरी आमा मेलवादेवी– विमला दीक्षित’, ‘राजा महेन्द्रको पहिलो गुरुङसेनी रानी रम्बा गुरुङ (रानीसाहेब)’ र ‘झोलुङ्गे पुलकी पहिलो महिला प्राविधिक– पूर्णकुमारी खड्का’ अध्याय प्रस्तुत गरिएको छ।

पुस्तकलाई अझ विश्वसनीय र प्रामाणिक बनाउन ऐतिहासिक दस्तावेज पनि उल्लेख छ।

‘ऐतिहासिक गढी’ अध्यायमा पुरात्तात्विक महत्वका गढीहरू जथाभावी उत्खनन गर्न नहुने उल्लेख छ। खासगरी पुनः निर्माणको नाममा जथाभावी उत्खनन गर्न नहुने सन्देश दिदैँन कानुनी पाटोसमेत स्मरण गराइएको छ। खरको छानोबा सुरु भएको मिसन अस्पताल अध्यायमा भने डाक्टर जेम्स एफ डिकले सेवा गर्नका निम्ति ओखलढुंगा आउँदा बाससमेत पाएनन्। स्थानीय मानिस बिरामी हुँदा औषधि खान मान्थेनन्।

कारण थियो, उनलाई स्थानीय मानिसहरुले यो सानो जातको मान्छे हो भन्थे। सुरुमा बासै नपाएका उनले पछि भने सेवाभावको कर्म गरेरै मन जिते। विशेषगरी मिसन अस्पतालको स्थापना, त्यसबेलाको सामाजिक सोच र डा. जेम्स एफ डिकले स्थानीय समाजको विश्वास जित्दै स्वास्थ्य सेवाको जग बसालेको प्रसंग निकै प्रेरणादायी छ।

‘टिम्बुरबोटेका जीवित साक्षी महेश कोर्मोचा’ अध्यायमा जननायक बीपी कोइरालासँगको प्रसंग रोचक ढंगले प्रस्तुत गरिएको छ। कोर्मोचालाई बीपीले सोधे – ‘तिमी मर्न किन डराउँदैनौ?’ तब उनले भने, ‘म ब्रिटिस सेनामा काम गरेर आएको युद्धको जेहाद छेड्न मलाई कुनै संकोच छैन।’

बीपीसँगको पटकपटकको भेटको कुरालाई यहाँ समेटिएको छ। विशेषगरी कांग्रेसमा लागेर पद र लाभ लिन खोज्नेहरू पहिलेदेखि नै सक्रिय रहेको समेत उल्लेख छ।

पुस्तकमा भनिएको छ, ‘कांग्रेसमा धेरैजसो चारवटा च अर्थात् चाकडी, चन्दा, चुक्ली, चाप्लुसीले बढी पद र अवसर लिने उनको भनाइ छ। अहिले नेपालमा निष्ठाको राजनीति सकिएर इगो, इमोसन र इकोनोमीले चल्न थालेको उनी बताउँछन्।’

‘मलाई राजा महेन्द्रले मन्त्री बनाउँछु’ भने अध्यायमा मेघबहादुर श्रेष्ठसँगको अन्तरवार्ता उल्लेख छ। श्रेष्ठले नेपाल देश गरिब रहेको र जबसम्म गरिब उन्मूलन हुँदैन तबसम्म देशमा विकास हुन नसक्ने बताएका छन्। उनले भनेका छन्, ‘युवा पुस्ता पुरानाको अनुभव लिएर देश चलाउन अघि बढ्नुपर्छ। पुराना मानिस धेरै छन्। देश बुझेका छन् तर तिनीहरूले देश बिगारिरहेका छन्।’

‘मेरी आमा मेलवादेवी’ अध्यायमा मेलवादेवीकी छोरी विमला दीक्षितसँगको अन्तर्वार्तालाई समेटिएको छ। सो खण्डमा मेलवादेवीको जन्मदेखि, संगीत कर्मबारेको चर्चा गरिएको छ। तर मेलवादेवीलाई नपढीकन, नबुझिकन कपोकल्पित तथ्यलाई उल्लेख गरिने गरिएकोप्रति उनको चिन्ता छ।

यसैगरी राजा महेन्द्रको ‘पहिलो गुरुङसेनी रानी’ अध्यायमा रम्बा गुरुङको कथा उदृत छ। महेन्द्र रम्बाको सम्बन्धबाट जन्मिएका रवीन्द्र शाहको प्रसंगसमेत छ। रवीन्द्र चर्चित गीतकारसमेत हुन्। तर रम्बालाई भने दरबारले सधैँ हेला गरेको प्रसंग उल्लेख छ।

‘झोलुंगेपुलकी पहिलो महिला प्राविधिक’ अध्यायमा गएर पुस्तकले बिट मारेको छ। खासगरी ओखलढुंगामै जन्मिएका र ओखलढुंगामा योगदान गरेका व्यक्तिहरू र ऐतिहासिक अवस्थालाई पुस्तकमा समेटिएको छ।

यद्यपि पुस्तकका केही पक्षमा अझ गहिरो अध्ययनको अपेक्षा गर्न सकिन्छ। ‘२००७ को ओखलढुंगा क्रान्ति र मुगाधन राई’ अध्यायमा चर्चा भएअनुसार मुगाधनको नेतृत्वमा मुक्तिसेनाले ओखलढुंगा कब्जा गरेको थियो। उनलाई ओखलढुंगा क्रान्तिको पहिलो कमान्डरसमेत भनिन्छ। त्यससँगै उनले विभिन्न आन्दोलनमासमेत नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रसंग उल्लेख छ। यद्यपि, मुगाधनले २००७ सालदेखि ०६२ सालसम्म गरेको योगदानको पूरा चर्चा भएको पाइएन। रहस्यमै छाडिएको छ।

त्यसैगरी डाटी शेर्पासम्बन्धी अध्याय पनि संक्षिप्त लाग्छ। लेखकले उनीबारे पर्याप्त सामग्री उपलब्ध नभएको उल्लेख गरे पनि थप अनुसन्धान र विश्लेषण गरिएको भए पुस्तक अझ समृद्ध बन्न सक्थ्यो। लेखकले भनेका छन्, ‘डाटीबारेमा अझै पनि कहिँ कतै केही लेखिएको छैन। सम्भवतः उनकाबारेमा लेखिएको यही लेख नै पहिलो लेख हो।’ त्यसकारण पनि विस्तृतमा आउनुपर्थ्यो। अन्य लेखिएका त इच्छुक भएमा मानिसले खोजेर पढ्छन् नै नलेखिएका कथा नै लेख्नु लेखकको सफलता हो। यद्यपि, सर्वोच्चको फैसलाको पूर्णपाठ भने छ। तर आममानिसले कानुनी भाषा नबुझन् पनि सक्ने भएकाले लेखककै कलमबाट थप आएको भए हुन्ने लागिरह्यो।

भाषाशैली सरल, प्रवाहयुक्त र पत्रकारितासँगै अनुसन्धानात्मक शैलीको मिश्रण भएकाले पुस्तक सहज रूपमा पढ्न सकिन्छ। कतिपय अध्याय समाचार–फिचर शैलीमा अघि बढ्दा पाठकलाई इतिहाससँगै घटनास्थलमै पुगेको अनुभूति हुन्छ।

समग्रमा ‘ओखलढुंगा (तथ्य र इतिहास)’ स्थानीय इतिहास, राजनीति, संस्कृति र व्यक्तित्वलाई एउटै पुस्तकमा समेट्ने महत्त्वपूर्ण कृति हो। स्थानीय इतिहासको खोज, संरक्षण र अभिलेखमा रुचि राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा इतिहासप्रेमीका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ। लेखक कुम्भराज राईको उक्त कदम प्रशंसनीय छ। स्थानीय इतिहासलाई लेखनमार्फत जोगाउने कार्यमा यो पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याएको छ।

पुस्तक : ओखलढुंगा (तथ्य र इतिहास)
लेखक : कुम्भराज राई
प्रकाशक : बाइलाइन मिडिया
मूल्य : रु. ५०० 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast