समावेशी डिजिटल सार्वजनिक सेवाको विकासमा अपांगता सशक्तीकरण समाजको जोड

हिमाल प्रेस ३२ असार २०८३ १०:५० | Thursday, July 16, 2026
6
SHARES
समावेशी डिजिटल सार्वजनिक सेवाको विकासमा अपांगता सशक्तीकरण समाजको जोड

काठमाडौँ- बागमती प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा हरिहरभवनस्थित परिवार नियोजन संघको सभाहलमा बुधबार आयोजित अनुदान प्राप्त संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रममा अपांगता सशक्तीकरण समाज नेपालले आफ्नो वार्षिक कार्यप्रगति, उपलब्धि तथा भावी योजना प्रस्तुत गरेको छ।

कार्यक्रममा अपांगता सशक्तीकरण समाज नेपालका महासचिव ई.कृष्ण महर्जनले संस्थाले अपांगता अधिकार प्रवर्द्धन, समावेशी विकास, पहुँचयुक्तता तथा सूचना प्रविधिमार्फत सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम र उपलब्धिबारे जानकारी गराएका थिए। आगामी दिनमा संस्थाले अघि बढाउने रणनीति तथा योजनाहरू पनि प्रस्तुत गरिएको थियो।

प्रस्तुतीकरणका क्रममा पहुँचयुक्त डिजिटल सार्वजनिक पूर्वाधार, पहुँचयुक्त सूचना तथा सञ्चार प्रविधि, डिजिटल पहुँचयुक्तता तथा समावेशी डिजिटल सार्वजनिक सेवाको विकासलाई संस्थाले आफ्नो दीर्घकालीन प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ।

महासचिव ई.कृष्ण महर्जनका अनुसार नेपाल तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अग्रसर भइरहेका बेला सबै नागरिकका लागि समान रूपमा उपयोग गर्न सकिने डिजिटल सेवा विकास गर्नु आवश्यक छ। विशेषगरी अपांगता भएका व्यक्तिहरूको आवश्यकता र अधिकारलाई केन्द्रमा राखेर निर्माण गरिने डिजिटल प्रणालीले मात्र वास्तविक समावेशी समाज निर्माण गर्न सक्ने संस्थाको धारणा रहेको छ।

यस उद्देश्यलाई साकार पार्न अपांगता सशक्तीकरण नेपालले संघीय तथा स्थानीय सरकार, विकास साझेदार र अन्य सरोकारवालासँग सहकार्य गर्दै पहुँचयुक्त र समावेशी डिजिटल नेपाल निर्माणका लागि निरन्तर कार्य गरिरहेको जनाएको छ।

कार्यक्रममा सहभागी संस्थाहरूले आफ्नो वार्षिक प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा प्रस्तुत गरेका थिए।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले अनुदान प्राप्त संस्थाहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरेको जनाएको छ।

अपांगता सशक्तीकरण समाजले कार्यक्रम आयोजना गरी आफ्नो अनुभव, उपलब्धि र भावी योजना प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समावेशी, पहुँचयुक्त र सबैका लागि समान अवसर सुनिश्चित गर्ने अभियानमा अझ प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ३२ असार २०८३ १०:५० | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast