बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा

हिमाल प्रेस ६ साउन २०८३ ९:२९ | Wednesday, July 22, 2026
12
SHARES
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ। ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका हुन्।

प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा कुरा गरी मुकेश बहादुर पाल प्रथम भए। उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरे ।
त्यसैगरी दोस्रो भएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ। प्रतियोगितामा चौथो हुनुभएका गणेश सिंहलाई १२ हजार, पाँचौ हुनुभएका अमृत ठकुरीलाई १० हजार र छैठौ हुनुभएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उनीहरूलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ। ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी थिए भने अन्य सयौँले अप्रतियोगीको रुपमा सहभागिता जनाएका थिए। प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागेको सभापति थापाले बताए।

कल्याण कोषको घोषणा
कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ। कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए। कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए।

कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिए। कांग्रेसले भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ।

प्रकाशित: ६ साउन २०८३ ९:२९ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast