सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना
काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्षलाई नेपालको दूरसञ्चार सेवामा सुधारको वर्ष बनाउने लक्ष्य रहेको बताएका छन्।
मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले फोरजी सेवा विस्तार, फाइभजी सेवा सुरु, इन्टरनेट तथा टेलिफोन सेवाको गुणस्तर सुधार र पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको बताए।
उनले विगतमा तय गरिएका लक्ष्य अपेक्षाअनुसार पूरा हुन नसकेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने समय आएको बताए।
नीतिगत, कानुनी र अन्तरनिकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनमा ढिलासुस्ती स्वीकार्य नहुने उनले बताए।
उनले कर्मचारीलाई परिणाममुखी ढंगले काम गर्न निर्देशन दिँदै निष्क्रिय भएर बस्ने छुट कसैलाई नरहेको बताए।
मन्त्रालय र मातहतका निकायबीच समन्वय कमजोर रहेको उल्लेख गर्दै त्यसमा तत्काल सुधार गर्न पनि उनले निर्देशन दिए।
मन्त्री तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थालाई थप व्यावसायिक, प्रतिस्पर्धी र विश्वसनीय बनाउन सुधारका काम अघि बढाइएको बताए।


