रसुवामा उत्पादित बर्खे आलुले पायो बजार

हिमाल प्रेस १ साउन २०८३ ५:५८ | Friday, July 17, 2026
8
SHARES
रसुवामा उत्पादित बर्खे आलुले पायो बजार

रसुवा- रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ।

असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन्।

आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन्।

यस वर्ष बजारमूल्य राम्रो रहेकाले किसान उत्साहित भएका छन्।

अर्का किसान रामकाजी थोक्राले फागुनमा रोपिएको आलु यस वर्ष हिउँदे वर्षा राम्रो भएकाले उल्लेख्य उत्पादन भएको बताए।

उत्पादन बढेसँगै किसानले राम्रो आम्दानीको अपेक्षा गरेका छन्।

नुवाकोटका उपभोक्ता जनार्दन न्यौपानेका अनुसार प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिने आलु स्वादिष्ट र गुणस्तरीय हुने भएकाले वर्षभर नै रसुवाकै आलु उपभोग गर्ने गरिएको छ।

रसुवाको यार्सा, भार्लेको माथिल्लो क्षेत्र, राम्चे, धुञ्चे, हाकु, नेसिङ, ग्रे, भार्खु, स्याफ्रु, बृद्धिम, टिमुरेको खैदी, थुमन, चिलिमेको टेचाङ्दे, गोल्जुङ तथा गत्लाङलगायतका क्षेत्रमा बर्खे आलुको व्यावसायिक उत्पादन हुँदै आएको छ।

गत वर्षको तुलनामा आलु उत्पादन बढेकाले जिल्ला बाहिरसमेत खपत हुन थालेको छ।

नुवाकोट, धादिङ र काठमाडौँलगायतका क्षेत्रमा रसुवाको आलु खपत हुने गरेको छ।

प्रकाशित: १ साउन २०८३ ५:५८ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast