काठमाडौँ– धादिङको गंगाजमुना गाउँपालिका-४, यार्सा टोलमा छोराको प्रहारबाट बुवाको ज्यान गएको छ।
आफ्नै छोराले फलामको पाइपले हान्दा ६० वर्षीय धननारायण सुनारको मृत्यु भएको हो।
प्रारम्भिक जानकारीअनुसार शनिबार अपराह्न घरायसी विषयमा विवाद चर्किएपछि ३५ वर्षीय सुजन सुनारले बुबालाई फलामको पाइपले हानेका थिए।
टाउकोमा गम्भीर चोट लागेका धननारायणलाई तत्काल उपचारका लागि फूलखर्क ग्रामीण अस्पताल लगिए पनि उपचारका क्रममा शनिबारै साँझ मृत्यु भएको चिकित्सकले बताएका छन्।
स्थानीय जनप्रतिनिधिका अनुसार सुजन लामो समयदेखि मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। यसअघि पनि उनले परिवारभित्र असामान्य र आक्रामक व्यवहार देखाउने गरेका कारण वडा कार्यालयले परिवारलाई आवश्यक परामर्श र सहयोग लिन पटकपटक आग्रह गरेको थियो।
तर त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकिएको स्थानीयको भनाइ छ।
घटना भएको केही बेरमै स्थानीय युवा र जनप्रतिनिधिको सहयोगमा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ।




