काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्गको शिलान्यासका बेला स्थापना गरिएको शिलालेख खोजी गरी पुनर्स्थापना गरिने बताएका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते नागढुंगा सुरुङमार्गको शिलान्यास गरेका थिए। त्यसबेला राखिएको ओलीको नाम अंकित शिलालेख पछि तोडफोड गरी हटाइएको भन्दै विभिन्न पक्षबाट आलोचना हुँदै आएको छ।
सुरुङमार्गको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले हराएको शिलालेख खोजेर पुनःस्थापना गरिने जानकारी दिए।
नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा.बाबुराम भट्टराईको कार्यकालमा गरिएको थियो।
परियोजनाको शिलान्यास भने २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सम्पन्न भएको थियो भने अहिले प्रधानमन्त्री बालेन शाहको कार्यकालमा सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको हो।
मन्त्री लम्सालले नागढुंगा सुरुङमार्ग नेपालका लागि नयाँ युगको सुरुआत भएको उल्लेख गर्दै अब देशका विभिन्न स्थानमा पनि यस्ता सुरुङमार्ग निर्माण गरिने बताए।
उनले भने,‘अब देशभर यस्ता सुरुङमार्ग बन्छन्। यस परियोजनाले हामीलाई धेरै अनुभव र सिकाइ दिएको छ। नेपाल सुरुङमार्ग निर्माणको नयाँ युगमा प्रवेश गरेको छ।’
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो अत्याधुनिक सडक सुरुङमार्ग हो।
परियोजनाअन्तर्गत मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर र सहायक (इभ्याकुएसन) सुरुङको लम्बाइ २.५५७ किलोमिटर रहेको छ।


