रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले किन गरे सेना प्रमुख बर्खास्त?

हिमाल प्रेस ६ साउन २०८३ १०:४५ | Wednesday, July 22, 2026
12
SHARES
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले किन गरे सेना प्रमुख बर्खास्त?

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुख ओलेक्सान्दर सिरस्कीलाई पदबाट हटाएका छन्। रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदमुक्त गरेको केही दिनपछि जेलेन्स्कीले सेना नेतृत्वमा पनि परिवर्तन गरेका हुन्।

फेदोरोभलाई हटाइएपछि युक्रेनका विभिन्न सहरमा लगातार प्रदर्शन भएको थियो। सुरुमा फेदोरोभ र सिरस्कीबीचको मतभेदका कारण यस्तो निर्णय भएको भन्ने चर्चा चले पनि त्यसलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ।

३५ वर्षीय फेदोरोभले रक्षा मन्त्रालयलाई प्रभावकारी बनाउनुका साथै सेना आधुनिकीकरण र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेलेको भन्दै व्यापक प्रशंसा पाएका थिए। यता ६० वर्षीय सिरस्कीलाई भने पुरानो सोभियत शैलीको नेतृत्व गर्ने र सेनामा आवश्यक सुधार लागू गर्न अनिच्छुक कमान्डरका रूपमा हेरिने गरिएको थियो।

सिरस्कीको स्थानमा ४३ वर्षीय युद्धअनुभवी तथा लोकप्रिय जनरल मिखाइलो ड्रापाटीलाई सेना प्रमुख नियुक्त गरिएको छ। नियुक्तिपछि सामाजिक सञ्जाल फेसबुकमार्फत ड्रापाटीले भने,‘देशको रक्षा गरिरहेका सैनिकहरूप्रति सम्मान राख्दै पूर्ण जिम्मेवारी र एकाग्रताका साथ काम गर्नेछु।’

उनले सिरस्कीको योगदानको प्रशंसा गरे। भने,‘युक्रेनी सेनालाई बलियो बनाउन उहाँले निरन्तर गर्नुभएको कामप्रति म आभारी छु। म यही सेनामा हुर्किएको हुँ।’

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा सिरस्कीलाई सन् २०२२ मा रुसको पूर्णस्तरीय आक्रमणको सुरुवाती चरणमा राजधानी किएभको सफल रक्षा गरेको योगदानका लागि धन्यवाद दिएका छन्।

उनले फेदोरोभसँग भेटेर उनलाई सरकारभित्रै ‘उचित जिम्मेवारी’ दिने प्रस्ताव गरेको जानकारी दिएका छन् तर उक्त प्रस्ताव स्वीकार गरिएको वा नगरिएको खुलाइएको छैन।

गत साता फेदोरोभको स्थानमा युक्रेनको सुरक्षा सेवा (एसबीयु)का पूर्वउच्च अधिकारी येभहेनी ख्मारालाई कार्यवाहक रक्षामन्त्री बनाइएको थियो। जेलेन्स्कीले सबै औपचारिक निर्णय भोलिपल्ट लागू हुने बताएका थिए।

उता फेदोरोभले ड्रापाटीलाई बधाई दिँदै उनको नियुक्तिलाई ‘स्वतन्त्रता र न्यायका लागि लडिरहेका स्वतन्त्र नागरिकहरूको संघर्षमा नयाँ आशा’ को संज्ञा दिएका छन्। उनले ‘परिवर्तनको आवाजलाई बेवास्ता गर्न सकिँदैन’ भन्दै ड्रापाटीको नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन्।

फेदोरोभले सिरस्कीलाई फोन गरेर किएभ क्षेत्रको रक्षा तथा अन्य ऐतिहासिक युद्धमा दिएको योगदानका लागि धन्यवाद दिएको पनि बताएका छन्। भनेका छन्,‘अब अझ तीव्र गतिमा अघि बढ्दै विगतका कमजोरी सच्याएर नयाँ इतिहास लेख्न आवश्यक छ।’

फेदोरोभ यसै वर्ष जनवरीमा रक्षामन्त्री नियुक्त भएका थिए। यसअघि डिजिटल रूपान्तरण मन्त्री रहेका उनले रुसविरुद्ध साइबर आक्रमण सञ्चालन गर्न ‘आईटी आर्मी अफ युक्रेन’ स्थापना गरेका थिए। उनले ‘आर्मी अफ ड्रोन’ अभियान सञ्चालन गरी ड्रोन प्रविधि विस्तार गर्नुका साथै युद्धमा ‘गेमिफिकेसन’ प्रणाली लागू गर्दै रुसी सैन्य लक्ष्यमा सफल आक्रमण गर्ने युक्रेनी इकाइलाई अंक प्रदान गर्ने व्यवस्था सुरु गरेका थिए।

उनलाई हटाइएपछि ६ दिनसम्म देशव्यापी प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरूले सिरस्कीलाई हटाउन दबाब दिएपछि जेलेन्स्कीले अन्ततः उनलाई हटाएर अपेक्षाकृत युवा र सुधारमुखी कमान्डर मानिने ड्रापाटीलाई नियुक्त गरेका हुन्। ड्रापाटी फेदोरोभका निकट सहयोगीसमेत मानिन्छन्।

फेदोरोभले ड्रापाटीको खुलेर समर्थन गरेपछि पछिल्लो राजनीतिक तनाव केही मत्थर हुने अपेक्षा गरिएको छ। हाल कार्यवाहक रक्षामन्त्री ख्मारालाई निरन्तर जिम्मेवारी दिइएको छ। राष्ट्रपति जेलेन्स्कीले ख्मारा र ड्रापाटीलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति र ड्रोन रणनीतिलगायत विषय समेटिएको नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिएका छन्।

यद्यपि सिरस्कीले आफ्नो बर्खास्तीबारे हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। सोमबार प्रकाशित एक लेखमा उनले फेदोरोभसँगको सम्बन्धलाई व्यावसायिक सम्बन्धको संज्ञा दिँदै यदि मैले मिखाइलो अल्बेर्तोभिच फेदोरोभलाई कुनै रूपमा दुःख दिएको भए क्षमा चाहन्छु भनेका थिए।

सैन्य सम्झौता, खरिद प्रक्रिया र सैनिक परिचालनसम्बन्धी विषयमा भइरहेका प्रदर्शनबारे उनले भने,‘मानिसको जीवनसँग जोडिएका निर्णय नाराबाजीका आधारमा हुँदैनन्। युद्ध जित्ने कुरा सार्वजनिक नाटकले होइन, वास्तविक कामले निर्धारण गर्छ।’

प्रकाशित: ६ साउन २०८३ १०:४५ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast