पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

हिमाल प्रेस २० जेठ २०८३ २१:२४ | Wednesday, June 3, 2026
18
SHARES
पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

काठमाडौँ– पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिब तीन महिनाका लागि बन्द गरेको जनाएका छन्।

बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायतका कारण उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा–जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए।

बेनी हुँदै सडकमार्गबाट मुस्ताङ आउने पर्यटकको चहलपहल यथावत रहे पनि पोखरा–जोमसोम हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुने पुगेका प्रमुख पोखरेलले उल्लेख गरे।
तारा एयरलाइन्सले मे २२ र समिट एयरलाइन्सले जुन २ तारिखदेखि पोखरा–जोमसोम हवाई सेवा बन्द गरेका प्रमुख पोखरेलले बताए।

जोमसोम नागरिक उड्डयन कार्यालयले बर्सेनि हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा–जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। उडान भर्ने साना जहाजहरू हुम्ला सिमीकोटतर्फ उडाइएको छ। भारतीय पर्यटकका लागि तिब्बतको मानसरोवर यात्रा खुला गरिएकाले उडान भर्ने साना जहाज त्यसतर्फ पठाइएको हो।

नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने जोमसोम नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ। पर्यटकीय याममा दैनिक तारा र समिटले गरी औसत १० वटा उडान भर्ने गरेको जसमा पोखराबाट हर्वा मार्ग प्रयोग करिब १५० बढी पर्यटक मुस्ताङ आउने गरेका छन्।

समिट एयरलाइन्स जोमसोमका स्टेशन इञ्चार्ज सुमन थकालीले समिट एयरले जुन २ देखि उडान बन्द गरेको जानकारी दिए। बन्द गरिएको उडान अगस्त १५ देखि सञ्चालनमा ल्याउने योजना रहेको स्टेशन इञ्चार्ज थकालीले उल्लेख गरे।

यसैगरी तारा एयरलाइन्सले पनि मे २२ देखि बन्द गरेको पोखरा–जोमसोम हवाई सेवा सेप्टेम्बरदेखि सञ्चालनमा आउने जोमसोमस्थित स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए। पर्यटक अफसिजन र मनसुन सुरु भएकाले हवाई सेवा बन्द गर्नुपरेको उनको भनाइ छ।

यसअघि पोखरा–जोमसोम हवाई उडान सेवाअन्तर्गत तारा एयरलाइन्सले डिसेम्बर चारदेखि मार्च एकसम्म र समिट एयरलाइन्सले डिसेम्बर एकदेखि फेब्रुअरी एकसम्म नियमित हवाई सेवा बन्द गरेका थिए।

प्रकाशित: २० जेठ २०८३ २१:२४ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast