काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदलाई अभिमुखीकरण तालिम दिएको छ । सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संघीय संसद्का दुवै सदनका सांसदका लागि तालिम प्रदान गरिएको नेकपा नेता एवं सांसद् वर्षमान पुनले जानकारी दिए ।
एक दिवसीय कार्यशाला नाम दिइएको उक्त प्रशिक्षणमा नेकपा नेता डा. बेदुराम भुसाल, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, संविधानविद् एवं संविधानसभा सदस्य खिमलाल देवकोटा र राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयालले सहभागीलाई प्रशिक्षण दिए ।
पूर्वसचिव फुयालले कार्यशालामा संसदीय अभ्यास, संसदीय कार्यप्रक्रिया र संसद् नियमावली तथा देवकोटाले संविधान र संसद्, भुसालले विधेयकको उत्पत्ति, निर्माण, विधेयक पेस गर्ने प्रक्रिया तथा संशोधनदेखि विधेयक पारित भएर कानुन बन्दासम्मको प्रक्रिया र बिडारीले प्रत्यायोजित विधायनका विषयमा प्रस्तुति दिएका थिए ।
संघीय संसद्मा नेकपाका ३४ सांसद छन् ।




