काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रा.डा. भगवान् कोइरालालाई एक करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै रामप्रसाद कोइराला।
काठमाडौँ– जीवनभर कमाएको सम्पत्ति दान गर्ने मानिस भेटिन्छन्, तर आफ्नै घर बेचेर समाजलाई समर्पण गर्ने व्यक्ति विरलै हुन्छन्। आजको स्वार्थ र व्यक्तिगत लाभको प्रतिस्पर्धाले भरिएको समाजमा यस्तो निर्णय विश्वास गर्न पनि कठिन लाग्छ। तर पाल्पाका रामप्रसाद कोइरालाले असम्भवजस्तो लाग्ने कामलाई यथार्थमा परिणत गरेका छन्। छोरीको श्रवणशक्ति गुमेपछि सुरु भएको व्यक्तिगत संघर्षले अन्ततः उनलाई आफ्नै घर बेचेर हजारौँ बालबालिकाको उपचारमा योगदान गर्ने निर्णयसम्म पुर्याएको हो।
लामो समय संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मा सेवा गरेका कोइरालाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओज बाल अस्पताल) मा आँखा, नाक तथा कान (ईएनटी) वार्ड स्थापना गर्न एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्। काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा उनले अस्पतालका अध्यक्ष प्रा.डा. भगवान् कोइरालालाई उक्त रकमको चेक हस्तान्तरण गरे।
कोइरालाले दान गरेको रकम कुनै अतिरिक्त सम्पत्ति वा व्यापारिक आम्दानीबाट आएको होइन। उनले काठमाडौँस्थित आफ्नै घर बेचेर यो सहयोग जुटाएका हुन्। यसको प्रेरणा भने उनको आफ्नै परिवारभित्र लुकेको एउटा गहिरो पीडाबाट जन्मिएको हो।
छोरीको पीडाले बदलिएको जीवन
रामप्रसादकी जेठी छोरी अपर्णाले बाल्यकालमै श्रवणशक्ति गुमाइन्। त्यसबेला नेपालमा उपचारको पर्याप्त व्यवस्था थिएन। चिकित्सकहरूले भारतको एम्स वा थाइल्यान्डको माहिडोल विश्वविद्यालय जान सुझाव दिएका थिए।
संयोगवश त्यही समयमा उनलाई संयुक्त राष्ट्रसंघको स्वयंसेवकका रूपमा लाओस जाने अवसर प्राप्त भयो। सन् १९८२ मा उनले देश छाड्ने निर्णय गरे।
‘धेरैले इन्जिनियर भएर स्वयंसेवक किन बन्ने भनेर रोक्न खोजे’, उनी सम्झन्छन्, ‘तर मलाई एउटै आशा थियो- छोरीको उपचार सम्भव होला।’
बैंककमा उपचार गरिए पनि अपर्णाको श्रवणशक्ति पूर्ण रूपमा फर्किएन। यद्यपि उनको जीवनको दिशा बदलिदियो। लाओसमा दुई वर्ष स्वयंसेवक बनेपछि उनी युनिसेफमार्फत भियतनाम पुगे। त्यसपछि सुडानसहित विश्वका विभिन्न देशमा बालबालिकासम्बन्धी परियोजनामा काम गर्दै उनले अभाव, पीडा र आशाका अनगिन्ती कथाहरू नजिकबाट देखे।
‘युनिसेफ मलाई आफ्नी हजुरआमाजस्तै लाग्थ्यो’, उनी भन्छन्, ‘जहाँ पुगे पनि बालबालिकाको जीवनलाई केन्द्रमा राख्ने भावना मैले त्यहीँ सिकेँ।’
आमाको सम्झनामा पुस्तक र दान
सेवानिवृत्त भएपछि उनले आफ्नी आमा र हजुरआमाको स्मृतिमा ‘मेरी उनी र म’ पुस्तक लेखे। तर पुस्तक लेखेर मात्रै उनको मन शान्त भएन। सानैमा आमाको मायाबाट वञ्चित भएर हजुरआमाको वात्सल्यमा हुर्किएका रामप्रसादले त्यही जीवनअनुभवलाई ‘मेरी उनी र म’ पुस्तकको मूल विषय बनाएका छन्। उनका अनुसार आमाप्रतिको समर्पणको भावनाले नै दान गर्ने प्रेरणा दिएको हो।
‘आमाप्रतिको प्रेमलाई शब्दमा मात्र होइन, कर्ममा कसरी उतारूँ?’ भन्ने प्रश्नले उनलाई लामो समयसम्म घच्घच्याइरह्यो। अन्ततः उनले आफ्नै घर बेचेर त्यो रकम बालबालिकाको उपचारमा खर्च गर्ने निर्णय गरेका हुन्। ‘आमा र हजुरआमाको स्मृतिमा गरिएको यो दान नै उहाँहरूप्रतिको मेरो प्रेमको सबैभन्दा ठूलो अभिव्यक्ति हो’, उनी भन्छन्।
आफ्नै पसिनाले बनाएको घर बेच्ने निर्णय परिवारका लागि सहज थिएन। ‘हामीलाई बाँच्न अभाव छैन। छोराछोरी आफ्नै खुट्टामा उभिइसकेका छन्। अब यो सम्पत्ति समाजकै लागि काम लागोस् भन्ने लाग्यो,’ उनले सुनाए।
यसअघि पनि उनले झापाको दमक अस्पताललाई कान उपचारका उपकरण खरिदका लागि १० लाख रुपैयाँ तथा काठमाडौँको हेपाली हाइट अस्पताललाई १० लाख रुपैयाँ सहयोग गरिसकेका छन्।
कठिन घडीमा ठूलो सहारा : प्रा.डा. भगवान्
अस्पतालका अध्यक्ष प्रा.डा. भगवान् कोइरालाले किओज बाल अस्पताल अहिले जटिल आर्थिक अवस्थाबाट गुज्रिरहेको भन्दै यस्तो सहयोग अत्यन्तै महत्त्वपूर्ण भएको बताए।
उनका अनुसार हजारौँ नेपालीको सानोसानो योगदानबाट अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको छ। अस्पतालमा सेवा सुरु भइसकेको छ। तर अत्यावश्यक उपकरण, सञ्चालन खर्च र सेवा विस्तारका लागि अझै ठूलो आर्थिक स्रोत आवश्यक रहेको कोइरालाले बताए।
‘यस्तो चुनौतीपूर्ण समयमा राम अंकलले नेपालका बालबालिकाको भविष्यमा लगानी गरेर ठूलो दान गर्नुभएको छ’, उनले भने। रामप्रसाद कोइराला नातामा प्रा.डा. भगवान् कोइरालाका काका पर्छन्।
अस्पतालले दाता कोइरालालाई ‘प्लाटिनम पार्टनर अफ किओज’ सम्मानबाट सम्मानित गरेको छ। प्रा.डा. कोइरालाले रामप्रसादलाई सम्मानपत्र प्रदान गरेका थिए।
पुस्तकमा आमाको माया र पश्चात्ताप
कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ‘मेरी उनी र म’ पुस्तकको केन्द्रमा लेखककी आमा र हजुरआमा रहेको बताए। परिमार्जित संस्करणमा नयाँ प्रसंगहरू थपिएकाले पुस्तक अझ समृद्ध बनेको उनको भनाइ थियो। उनले रामप्रसादको लेखनमा उनको मातृभक्ति जीवन्त रूपमा प्रकट भएको बताए। रेग्मीले अस्पताललाई ठूलो धनराशि दान गरेकोमा धन्यवाद दिए।
प्रा.डा. भगवान् कोइरालाले पुस्तकमा आमाप्रतिको करुणा, सम्मान र गहिरो पश्चात्ताप सजीव रूपमा अभिव्यक्त भएको उल्लेख गर्दै भने, ‘आमाको माया नपाउँदाको पीडा र त्यसप्रतिको संवेदनशीलता पुस्तकभरि अनुभूत गर्न सकिन्छ।’ उनका अनुसार पुस्तक मातृवियोगको कथा मात्र होइन, नेपाली समाजमा नारीहरूले भोग्नुपरेका संघर्ष र त्यागको मार्मिक दस्तावेज पनि हो।
कार्यक्रममा पुस्तकको केही अंश समेटेर तयार पारिएको नाटक मञ्चन गरिएको थियो। नाटकमा मातृवियोग, मातृमिलन र प्रेमलाई बडो मार्मिक तरिकाले प्रस्तुत गरिएको थियो। नाटक प्रस्तुत हुँदा दर्शकदीर्घामा बसेका धेरै मानिस भावुक बनेका थिए।
युनिसेफमा बिताएका दशकौँले रामप्रसाद कोइरालालाई बालबालिकाको जीवन, उनीहरूका अभिभावकका संघर्ष र समाजका असंख्य पीडासँग प्रत्यक्ष परिचित गरायो। छोरीको उपचार खोज्दै सुरु भएको उनको व्यक्तिगत यात्रा अन्ततः हजारौँ अपरिचित बालबालिकाको उपचार र आशासँग जोडियो। जीवनको उत्तरार्धमा पुगेका कोइराला प्राय: अस्ट्रेलियामा बस्छन्।
कतिपय मानिस घर बनाउँछन् र त्यही घरभित्र जीवन बिताउँछन्। तर केही मानिस त्यही घर बेचेर अरूका जीवन उज्यालो बनाउँछन्। रामप्रसाद कोइरालाले इँटा र सिमेन्टको घर त्यागेर करुणा, स्मृति र मानवीयताको एउटा यस्तो स्मारक निर्माण गरेका छन्, जुन धेरै बालबालिकाको जीवनमा लामो समयसम्म आशाको ज्योति बनिरहनेछ।





