इन्जिनियरिङका विभिन्न प्रविधि प्रयोग गरेर मेडिकल समस्या पहिचान तथा समाधान गर्ने विषय नै बायोमेडिकल इन्जिनियरिङ हो। यसमाबाट स्वास्थ्य सेवा प्रणालीमा इन्जिनियरिङका सिद्धान्त प्रयोगमा ल्याइन्छ। रोग पहिचानका लागि डाक्टरको सल्लाह बमोजिम ईसीजी, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, एक्स-रे, सिटी स्क्यानलगायत ल्याब जाँचका मेसिनको आवश्यकता पर्छ भने निदानको लागि फिजियोथेरेपी लगायत शरीरभित्र प्रत्यारोपण गर्ने उपकरण तथा डायलाइसिस र भेन्टिलेटर मेसिन आदिको समेत आवश्यकता पर्न सक्छ। यी सबै प्रविधिको निर्माण तथा संचालन गर्ने काम बायोमेडिकल इन्जिनियरले गर्दछन्। उनीहरूले त्यसको मर्मत तथा सम्भार पनि गर्छन्।
डाक्टरहरू पनि उपचारका लागि बायोमेडिकल प्रविधिमा निर्भर हुन थालेका छन्। सामान्य ज्वरो तथा रुघाखोकी जाँचका लागि पनि पहिला बिरामीलाई ल्याबमा पठाइन्छ। सो जाँच गरेर आएको रिपोर्टका आधारमा डाक्टरले उसको स्वास्थ्यबारे जानकारी पाउँछन् र औषधी लेखिदिन्छन्। ल्याबको सही रिपोर्टको निर्भरता उपकरणमा हुने भएकोले बायोमेडिकल इन्जिनियरको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अहिले त बिरामीको शल्यक्रिया गर्दा पनि बायोमेडिकल इन्जिनियरलाई साथमै राख्न थालिएको छ। किनकि शल्यक्रियाको दौरान उपकरणमा केही समस्या आयो भने तत्कालै सामाधान गर्नुपर्ने हुन्छ।
बायोमेडिकल इन्जिनियरिङलाई चिकित्सा विज्ञान र इन्जिनियरिङको मिश्रणको रूपमा पनि लिइन्छ। जैविक चिकित्साजन्य बस्तु (Biomaterials)तन्तु (Tissue) सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्नेदेखि चिकित्सकीय क्षेत्रमा प्रयोग हुने उपकरण सञ्चालन गर्नेमा बायोमेडिकल इन्जिनियरको विशेष भूमिका हुन्छ।
नेपालजस्तो भौगोलिक रूपमा विकट देशमा टेलिमेडिसिनको महत्त्व बढ्दै गएको छ। बायोमेडिकल इन्जिनियरिङले दुर्गम क्षेत्रका बिरामीलाई विशेषज्ञ चिकित्सकसँग जोड्ने प्रविधिको विकासमा सहयोग पुर्याएको छ। यसले स्वास्थ्य सेवा पहुँच विस्तार गर्न मद्दत गरेको छ।
आजकल स्वास्थ्य क्षेत्रमा पनि कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) को प्रयोग बढिरहेको छ। रोग पहिचान, मेडिकल इमेज विश्लेषण, रोबोटिक सर्जरी तथा बिरामीको डाटा व्यवस्थापनमा एआई आधारित प्रविधिहरू प्रयोग भइरहेका छन्। बायोमेडिकल इन्जिनियरहरूले यस्ता प्रविधिको विकास तथा सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
रोजगारीको अवसर र बजारको माग
नेपालमा उच्च शिक्षा अध्ययनको व्यवस्था नभएकोले थुप्रै जनशक्ति उच्च शिक्षाको लागि बिदेसिएका छन्। ती जनशक्ति मध्ये केही उतै पनि अध्यापन तथा अनुसन्धानमा संलग्न छन्।
नेपालमै रहेकाहरूमध्ये पनि हालसम्म कोही बेरोजगार बस्नु परेको जानकारी छैन। नेपालमा बायोमेडिकल इन्जिनियरहरू सरकारी तथा निजी अस्पताल बाहेक केही बायोमेडिकल उपकरणसम्बन्धी कम्पनीहरूमा कार्यरत छन् भने केही स्वास्थ्य सेवा विभाग, तालिम केन्द्र, शिक्षण संस्थाहरूलगायत अनुसन्धान केन्द्रमा समेत कार्यरत छन्। बजारमा बायोमेडिकल इन्जिनियरको माग बर्सेनि बढेको छ तर हामीले बजारको आवश्यकता अनुसार बायोमेडिकल इन्जिनियर पूर्ति गर्न सकिरहेका छैनौं। विशेषगरी सरकारी तथा निजी अस्पतालमा यस्ता जनशक्ति खपत हुने गरेको छ। काठमाडौँ बाहिरका अस्पतालमा पनि यस्ता जनशक्ति उत्तिकै खपत भइरहेको छ।
पछिल्लो समय लोकसेवा आयोगले पनि बायोमेडिकल इन्जिनियरकै दरबन्दीका कर्मचारी माग गर्न थालेको छ। केही समय अघिसम्म बायोमेडिकल इन्जिनियर चाहिएको खण्डमा पनि अन्य इन्जिनियरिङ विधामै माग हुँदै आएको थियो। अहिले केही सिट घटाइको छ। बढाउनु पर्ने नितान्त आवश्यक छ।
स्वास्थ्य सेवा विनियमावलीमा हरेक एक सय बेडको अस्पतालमा एक जना बायोमेडिकल इन्जिनियर हुनैपर्ने भन्ने प्रावधान रहेको छ। उक्त विनियमावली हालसम्म लागू भएको छैन। लागू हुने हो भने सयौं जनशक्ति तुरुन्तै खपत हुने देखिन्छ। अस्पतालमा तहगत हिसाबले पनि बायोमेडिकल इन्जिनियरको माग सिधै सातौँ, आठौँ तहमा गरिन्छ। पढाइपछि देश तथा विदेशमा समेत प्रशस्त अवसरहरू प्राप्त भइरहेको देखिन्छ।
विश्वभर स्वास्थ्य प्रविधिको विकाससँगै बायोमेडिकल इन्जिनियरहरूको माग पनि निरन्तर बढिरहेको छ। अस्पताल, मेडिकल उपकरण कम्पनी, अनुसन्धान संस्था, पुनर्स्थापना केन्द्र, स्वास्थ्य मन्त्रालय तथा शिक्षण संस्थामा समेत प्रशस्त अवसरहरू सिर्जना भइरहेका छन्।
केही वर्षअघिसम्म अस्पतालमा लामो समयदेखि मेसिन बिग्रियो भन्नेजस्ता समाचार प्रशस्तै आउँथे। पछिल्ला वर्षहरूमा कम भएका छन्। यसको मुख्य कारण अहिले धेरै अस्पतालमा बायोमेडिकल इन्जिनियर पूर्णकालीन कार्यरत भएकोले हो। उनीहरूले मेसिन पनि आफैँ बनाउने भएकाले यस्ता समस्या क्रमशः हल हुँदै गएका छन्।
अनुसन्धान र चुनौतीहरू
बायोमेडिकल इन्जिनियरिङ पढेका विद्यार्थी अस्पतालमा बाहेक अनुसन्धानमा आधारित भएर पनि काम गर्न सक्छन्। उपचारपद्धतिलाई सहज र सर्बसुलभ बनाउन के कस्ता प्रविधि उत्पादन गर्न सकिन्छ र हाल रहेका प्रविधिमा के सुधार गर्न सकिन्छ भनेर अनुसन्धान गर्नेहरूको संख्या धेरै छ।
शरीरभित्र राख्न मिल्ने कृत्रिम अङ्गहरू, कलेजो वा मिर्गाैला खराब भएकाहरूका लागि नयाँ जैविक चिकित्साजन्य पदार्थ र घातक रोगहरू चाँडै पत्ता लगाउने डायग्नोस्टिक किटहरूको आविष्कार गर्ने काम भइरहेको छ। अहिले भइरहेका CT Scan, MRI jf Ultrasound जस्ता मेसिनहरूलाई अझ परिमार्जित गर्ने काम भइरहेको छ।
यसको उद्देश्य मेसिनबाट निस्कने विकिरणलाई न्यूनीकरण गर्नु, स्वास्थ्य परीक्षणको तस्बिरलाई अझ स्पष्ट बनाउनु तथा जाँचका क्रममा बिरामीले पाउने कष्टलाई कम गर्नु हो। कार्यस्थलमा होस् या खेलमैदानमा, कसरी चोटपटक कम गरी कार्यक्षमता बढाउन सकिन्छ भन्ने बारेमा पनि निरन्तर अध्ययन तथा अनुसन्धान भइरहेको छ।
नेपालमा यस्ता अनुसन्धानका लागि सरकारी तवरबाट कुनै सहयोग प्राप्त हुँदैन। त्यसैले यहाँ अध्ययन गरेका विद्यार्थी विदेश गएर पनि विभिन्न किसिमका अनुसन्धानात्मक कार्यमा संलग्न भएका छन्। बायोमेडिकल इन्जिनियरिङ मेसिन मर्मत गर्ने विधा नभएर मानव जीवनलाई प्रविधिको माध्यमबाट सुरक्षित, सहज र दीर्घायु बनाउने एउटा बृहत् विज्ञान हो। नेपालले समयमै यसको महत्त्व बुझेर अनुसन्धानमा लगानी नगरेसम्म हाम्रा दक्ष जनशक्ति विदेशी भूमिमै खटिन बाध्य हुने छन्।
नेपालमा पर्याप्त अनुसन्धान केन्द्र, रिसर्च ल्याब र उचित रोजगारीको अवसर नहुँदा यहाँ उत्पादित उत्कृष्ट बायोमेडिकल इन्जिनियरहरू उच्च शिक्षा र करियरका लागि युरोप, अमेरिका वा अस्ट्रेलियामा पलायन भइरहेका छन्।
नेपालमा चिकित्सा उपकरणहरूको गुणस्तर मापन, प्रमाणीकरण र दर्ता प्रक्रियाका लागि राष्ट्रिय नीति र प्रयोगशालाहरूको अभाव छ। यसले गर्दा स्वदेशमै नयाँ प्रविधि आविष्कार गरे पनि त्यसलाई व्यावसायिक रूपमा बजारमा ल्याउन कानुनी झन्झट हुन्छ।
नेपालका विश्वविद्यालयमा गरिने कतिपय प्राज्ञिक अनुसन्धानहरू अस्पताल र उद्योगसँग जोडिन सकेका छैनन्। अस्पताललाई के चाहिएको छ भन्ने अनुसन्धानकर्तालाई थाहा नहुनु र अनुसन्धान भएका कुरालाई उत्पादन गर्ने उद्योग नहुनु ठूलो चुनौती हो।
नेपालमा धेरैजसो मेडिकल उपकरण विदेशबाट आयात गरिन्छन्। यदि स्वदेशमै अनुसन्धान तथा उत्पादनलाई प्रोत्साहन गर्न सकिएमा कम लागतमा गुणस्तरीय उपकरण उत्पादन गर्न सकिन्छ। नेपालमा स्थानीय स्वास्थ्य समस्यालाई लक्षित गरेर कम लागतका, प्रभावकारी तथा प्रयोगमैत्री उपकरण विकास गर्न सकिएमा यसले स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बन्न टेवा पुर्याउँछ। विश्वविद्यालय, अस्पताल तथा उद्योगबीच निरन्तर सहकार्य आवश्यक देखिन्छ।
विद्यार्थीको आकर्षणको कारण
बायोमेडिकल इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दो छ। पढाइ सकिएपछि तत्काल रोजगारी पाइने भएकाले पनि यसतर्फ आकर्षण बढेको हो। अर्को कुरा, अस्पतालमा उपचारका लागि महत्त्वपूर्ण भूमिका हुने भएकाले पनि विद्यार्थी बायोमेडिकल इन्जिनियरिङ पढ्न रुचाउँछन्। आर्थिक वा अन्य कारणले डाक्टर बन्न नसकेकाहरूको लागि पनि बायोमेडिकल इन्जिनियरिङ विषय राम्रो विकल्प बनेको छ। चिकित्सा र प्रविधिको यो सुन्दर संगमले स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन यो विधा देशकै लागि मेरुदण्ड साबित हुँदै गइरहेको छ।
नेपालमा बायोमेडिकल इन्जिनियरिङको शैक्षिक अवस्था
नेपालमा एउटा मात्र यस्तो कलेज छ जहाँ बायोमेडिकल इन्जिनियरिङ विषयमा पढाइ हुन्छ। हाल काठमाडौँको कोपुण्डोलमा रहेको ‘नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) मा सन् २००५ देखि बी. ई. बायोमेडिकल इन्जिनियरिङको पढाइ हुँदै आएको छ। यो कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ।
अन्य इन्जिनियरिङ कोर्स जस्तै बायोमेडिकल इन्जिनियरिङ पनि चार वर्षको हुन्छ। यसलाई नेपाल इन्जिनियरिङ परिषद्ले सम्बन्धन प्रदान गर्दछ। प्लस टू (साइन्स) वा सो सरहमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित तथा अंग्रेजी विषयमा कम्तिमा ४५ प्रतिशत अंक वा ग्रेड ल्याएका विद्यार्थी बायोमेडिकल इन्जिनियरिङको प्रवेश परीक्षाको लागि आवेदन दिन योग्य हुन्छन्।
लेखक खनालले Biomedical Engg मा अमेरिकाबाट एमएस गरेका छन्। उनी यतिबेला नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा सहायक क्यापस प्रमुखका रूपमा कार्यरत छन्।




