रास्वपाको पहिलो महाधिवेशनका लागि प्रतिनिधि नामावली तयार गरिँदै

हिमाल प्रेस ४ असार २०८३ १५:३८ | Thursday, June 18, 2026
4
SHARES
रास्वपाको पहिलो महाधिवेशनका लागि प्रतिनिधि नामावली तयार गरिँदै

चितवन- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावली तयार गर्न सुरु गरिएको छ। महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुने भएको हो।

पार्टीको केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार मतदान गर्ने प्रतिनिधिको नामावली विभिन्न संरचना र प्रक्रियाबाट तय गरिनेछ। मधेश प्रदेशसहित १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाट प्रतिनिधि चयन गरिने व्यवस्था गरिएको छ।

श्रेष्ठका अनुसार २०७९ सालको आम निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवार भई निर्वाचित हुन नसकेका व्यक्तिहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।

त्यस्तै, पालिका सभापति, पालिका अधिवेशनबाट छनोट भएका प्रतिनिधि, केन्द्रीय समिति तथा केन्द्रीय संरचनामा रहेका सदस्यहरू पनि प्रतिनिधि सूचीमा समावेश हुनेछन्।

केन्द्रीय संरचनाअन्तर्गत रहेका ३८ विभागका ११/११ सदस्य, तीन आयोगका समान सदस्य संख्या तथा सल्लाहकारहरू पनि महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

संघीय नेतृत्व मञ्चका सबै सदस्य, सातै प्रदेशका प्रदेश समिति तथा विभागका प्रमुख, उपप्रमुख र सचिवहरू साथै जिल्ला समितिका सभापतिसहित पाँच जना प्रतिनिधि पनि महाधिवेशनमा सहभागी हुनेछन्।

त्यस्तै, विभिन्न जिल्लाका ‘जिल्ला–काठमाडौँ सम्पर्क विभाग’ का प्रमुखहरू, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजकहरू पनि प्रतिनिधि हुनेछन्। २५ देशबाट समेत प्रतिनिधिहरू सहभागी हुने तयारी छ जहाँ सम्बन्धित देशबाट तीनदेखि ११ जनासम्म प्रतिनिधि आउने जनाइएको छ।

पार्टी विधानअनुसार सभापतिले विशेष निर्णयमार्फत २०० जना प्रतिनिधि मनोनयन गर्न सक्ने व्यवस्था पनि रहेको छ।

महाधिवेशनमा पर्यवेक्षकहरूको सूची पनि तयार भइरहेको छ। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल, विशिष्ट व्यक्तित्व, विदेशी पार्टी तथा अन्य निकायलाई निमन्त्रणा पठाउने काम भइरहेको बताइएको छ।

महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेष्टहाउस मैदानमा उद्घाटन हुनेछ भने ८ र ९ गते उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन गरिनेछ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ। त्यसपछि निर्वाचित सदस्यहरूबाट दोस्रो चरणमा तीन उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री चयन गरिने सचिव श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित: ४ असार २०८३ १५:३८ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast