भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि बढ्यो, पहिलो चरणमा ५० हजार मेट्रिक टन ल्याइने

हिमाल प्रेस २८ जेठ २०८३ ७:२४ | Thursday, June 11, 2026
8
SHARES
भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि बढ्यो, पहिलो चरणमा ५० हजार मेट्रिक टन ल्याइने फाइल तस्बिर

काठमाडौँ- भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ । जिटुजी सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउने तयारी भएको छ, जसमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी समावेश छन् ।

नेपाल सरकारको विशेष आग्रहपछि भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स मार्फत सहुलियत दरमा मल आपूर्ति गर्ने सहमति बनेको हो । यसअघि मन्त्रिपरिषद्ले कुल १ लाख मेट्रिक टन मल/६० हजार युरिया र ४० हजार डीएपी/खरिद गर्न नीतिगत स्वीकृति दिएको थियो। त्यसअनुसार दुई देशका सरकारी निकायबीच सम्झौता गरी प्रक्रिया अघि बढाइएको हो ।

हाल कृषि सामग्री कम्पनी लिमिटेडले आवश्यक परिमाण र मूल्यका लागि प्रक्रिया पूरा गरिसकेको छ र पर्चेज अर्डर जारी भइसकेको छ। भुक्तानी प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। सम्झौताअनुसार १२० दिनभित्र मल आपूर्ति गर्नुपर्ने भए पनि नेपालले तत्काल आवश्यकताका कारण छिटो ढुवानीका लागि अनुरोध गरेको छ।

सरकारी तथ्याङ्कअनुसार हाल युरिया, डीएपी र पोटासको मौज्दात केही मात्रामा भए पनि कृषकको माग उच्च रहेको छ। विशेषगरी धान बालीका समयमा मलको माग बढी हुने भएकाले आपूर्ति चुनौतीपूर्ण बनेको छ। सरकारले चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन मल आपूर्तिको लक्ष्य राखेको छ र त्यसका लागि ठूलो बजेट विनियोजन गरिएको छ।

 

प्रकाशित: २८ जेठ २०८३ ७:२४ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast