परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश

हिमाल प्रेस २७ जेठ २०८३ १८:२८ | Wednesday, June 10, 2026
44
SHARES
परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता अनिलकुमार साहलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले गृह मन्त्रालयको नाममा यो आदेश जारी गरेको हो।

परीक्षाका क्रममा परीक्षार्थीबाट प्रहरीले मोबाइल फोन र स्मार्टवाच लगायतका सामग्री जफत गरेपछि अधिवक्ताहरू विकास यादव र अनिलकुमार साहले सर्वोच्चमा रिट दायर गरेका थिए।

‘…सुविधा र सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिरहाको मिति २०८२/०१/१३ को सूचनामा उल्लेख भएको परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको जानकारी प्रत्यर्थीलाई दिनू,’ आदेशमा भनिएको छ।

परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट विद्यार्थीको साथबाट जफत गरिएका मोबाइल फोनहरू प्रहरीले हालसालै नष्ट गरेको खुलेको छ। मोबाइल फोन र स्मार्टवाच पानीको ड्रममा डुबाउँदा त्यहाँभित्र रहेका डाटा नष्ट हुनुका साथै करोडौँको क्षति भएको रिट निवेदकहरूको दाबी छ।

प्रकाशित: २७ जेठ २०८३ १८:२८ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast