किन विश्व नेताहरूको आकर्षण बने चिनियाँ राष्ट्रपति सी?

हिमाल प्रेस ८ जेठ २०८३ १७:१६ | Friday, May 22, 2026
6
SHARES
किन विश्व नेताहरूको आकर्षण बने चिनियाँ राष्ट्रपति सी?

बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टको रातो कार्पेट पछिल्ला महिनामा लगातार विश्व नेताहरूको आवागमनले व्यस्त बनेको छ। मे १३ देखि १५ सम्म डोनाल्ड ट्रम्पको भ्रमणपछि हालैका दिनहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  चीन भ्रमण गरेका छन्। त्यस्तै जी-७ का सातमध्ये पाँच सदस्य राष्ट्रका नेतासहित विभिन्न देशका शीर्ष नेताहरू चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्न बेइजिङ पुगेका छन्।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ शुक्रबार बेइजिङ पुग्ने कार्यक्रम छ भने सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुचिच मे २४ आइतबारदेखि चारदिने भ्रमणमा जाने तय भएको छ। यसरी कूटनीतिक दृष्टिले हाल विश्वका धेरै कूटनीतिक मार्ग सी चिनफिङतर्फ केन्द्रित देखिन्छन्।

रुसी राष्ट्रपति पुटिनले पछिल्ला केही वर्षमा २० भन्दा बढी पटक सी चिनफिङलाई भेटिसकेका छन्। उनले चिनियाँ राष्ट्रपतिलाई ‘प्रिय मित्र’ भनेका छन् भने सी चिनफिङले पुटिनलाई ‘पुरानो मित्र’ भन्दै प्रत्युत्तर दिएका छन्। दुवै नेताबीच साझेदारी, आपसी सम्मान, मैत्री र विश्वासजस्ता शब्दहरू दोहोरिए पनि वास्तविकतामा पुटिनलाई चाहिएको मुख्य सम्झौता भने पूरा हुन सकेन।

बर्मिंघम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञ प्रोफेसर स्टेफन वोल्फका अनुसार पुटिनको भ्रमणको मुख्य उद्देश्य ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइनसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिनु थियो, जुन पूरा हुन सकेन। उक्त परियोजना बनेपछि रूसले आर्कटिक क्षेत्रबाट ५० अर्ब घनमिटर प्राकृतिक ग्यास चीनलाई बिक्री गर्न सक्नेछ।

युक्रेन युद्धपछि लगाइएको प्रतिबन्धका कारण रूसका लागि यो सम्झौता अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। पुटिनको भ्रमणले पछिल्ला वर्षहरूमा देखिँदै आएको एउटा तथ्यलाई अझ स्पष्ट बनाएको छ- चीनको नयाँ विश्व व्यवस्थासम्बन्धी दृष्टिकोण त्रिपक्षीय होइन र यसमा रूस बराबर साझेदारका रूपमा नरहेको संकेत देखिन्छ। अहिले अमेरिका-चीनबीचको सम्बन्ध द्विपक्षीय साझेदारीजस्तो देखिए पनि त्यो लामो समय टिक्ने सम्भावना कम रहेको वोल्फको निष्कर्ष छ।

ग्लास्गो विश्वविद्यालयका रुस-चीन सम्बन्ध विशेषज्ञ मार्सिन काज्मार्स्कीका अनुसार दुई देशबीचको सम्बन्ध असमान छ, जहाँ चीनसँग रूसलाई सहयोग गर्ने क्षमता धेरै छ तर रूससँग चीनलाई दिने क्षमता सीमित छ।

यसैबीच ट्रम्पको चीन भ्रमणका क्रममा भएका व्यापार सम्झौताहरू पनि सार्वजनिक भएका छन्। चीनले २०० बोइङ विमान खरिद गर्ने र सोयाबिन तथा अन्य कृषि उत्पादनमा अर्बौँ डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

तर भन्सार शुल्क घटाउने विषयमा चीनले संकेत गरे पनि अमेरिकी पक्षले भने यसबारे स्पष्ट रूपमा केही भनेको छैन। दुर्लभ खनिज (रेयर अर्थ) सम्बन्धी आपूर्तिका विषयमा पनि दुई देशका आधिकारिक विवरणमा भिन्नता देखिएको छ।

ट्रम्पको चीन भ्रमणलाई सौहार्दपूर्ण तर अपेक्षाकृत् कमजोर रूपमा विश्लेषण गरिएको छ।

नटिंघम विश्वविद्यालयकी अमेरिकी विदेश नीतिका विशेषज्ञ मारिया रायनका अनुसार अमेरिका र चीन अहिले विश्वका दुई प्रमुख शक्ति हुन् र उनीहरूको स्वार्थ क्रमशः भिन्न हुँदै जानेछ। त्यसैले यस्ता भ्रमणहरू मुख्यतः प्रतिस्पर्धा व्यवस्थापन र सम्भावित द्वन्द्व नियन्त्रणका लागि हुने गरेका छन्। उनले भनिन्, ‘यस भेटघाटले दीर्घकालीन रूपमा अमेरिका-चीन प्रतिस्पर्धा कम गर्ने कुनै संकेत दिएको छैन।’

हालको अन्तर्राष्ट्रिय कूटनीति चीन केन्द्रित बन्दै गएको देखिए पनि अमेरिका-चीन प्रतिस्पर्धा दीर्घकालीन रूपमा अझ गहिरिने संकेत देखिन्छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ८ जेठ २०८३ १७:१६ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast