काठमाडौँ- नेपाली सेनाले अवकाश प्राप्त रथीवृन्दसँग जङ्गी अड्डामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयअनुसार स्थापना कालदेखि नेपाली सेनाले निर्वाह गर्दै आएका जिम्मेवारी, सम्पादन गरेका महत्त्वपूर्ण कार्य तथा सञ्चालनमा रहेका कल्याणकारी गतिविधिबारे समीक्षा गरिएको थियो।
राष्ट्रिय सुरक्षासँग सम्बन्धित समसामयिक विषयमा समेत छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त हुँदै आएको बताउँदै उनीहरूको अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरे।
नेपाली सेनाले यस्ता कार्यक्रमले सेवारत तथा अवकाश प्राप्त सैनिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै प्राप्त रायसुझावले राष्ट्रिय दायित्वको प्रभावकारी वहन र राष्ट्रिय हितको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






