कुन कुन राजमार्ग छन् अवरुद्ध, हेर्नुहोस्

हिमाल प्रेस १० जेठ २०८३ ९:३६ | Sunday, May 24, 2026
कुन कुन राजमार्ग छन् अवरुद्ध, हेर्नुहोस् ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका-१ सेसम्बुस्थित सडकमा गएको पहिरो। फाइल तस्बिर

काठमाडौँ- देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। आइतबार बिहान ८ बजेसम्मको आधिकारिक तथ्यांकअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा आवागमनमा अवरोध पुगेको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको छ।

बाढी र पहिरोको सबैभन्दा ठूलो मार कोशी प्रदेशमा परेको छ। विशेषगरी पाँचथर जिल्लामा मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड पूर्ण रूपमा बन्द भएका छन्। जेठ ८ गते गएको बाढी र पहिरोका कारण पाँचथरको याङवरक गाउँपालिकाअन्तर्गत वडा नम्बर ३ को ओयाम बजार र रिजालभिर तथा वडा नम्बर २ को दोभानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रदेशको भोजपुर नगरपालिका ५ बोखिममा बाढीले क्षति पुर्‍याएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी सुचारु भएको छ र त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। त्यसैगरी, पहिरोले अवरुद्ध संखुवासभाको मकालु गाउँपालिका ३ नयाँ बस्तिस्थित कोशी राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ।

उता, बागमती र कर्णाली प्रदेशका केही राजमार्गमा भने सम्भावित जोखिमलाई हेरेर पूर्वसावधानी अपनाइएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्गमा यातायात ठप्प पारिएको छ। वैशाख २२ गतेदेखि खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण वैशाख २९ गतेदेखि नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा-सिमकोट सडक खण्डमा यातायात सञ्चालन गर्न दिइएको छैन।

गण्डकी प्रदेशको म्याग्दी जिल्लामा बेनी-जोमसोम सडक खण्ड दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोका कारण प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा वैशाख १६ गते र रघुगंगा गाउँपालिका ३ तल्लो बैसरीमा जेठ ७ गते गएको पहिरो पन्छाएर हाल उक्त सडक खण्ड एकतर्फी मात्र सुचारु गरिएको छ। सडक पूर्ण रूपमा नखुल्दा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ।

प्रकाशित: १० जेठ २०८३ ९:३६ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast