काठमाडौँ- १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी दिवस मनाइएको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न संवैधानिक निकायका प्रमुख एवं उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले आकर्षक मार्चपास प्रदर्शन गरेका थिए। नेपाली सेनाले शान्तिको प्रतीकका रूपमा परेवा उडाएर विशेष समारोहलाई थप आकर्षक बनाएको थियो।
उक्त अवसरमा राष्ट्रपति पौडेलले विशेष समारोहलाई सम्बोधन गर्दै गणतन्त्रले नेपाली जनतालाई राजनीतिक अधिकार सुनिश्चित गर्नुका साथै समुन्नत भविष्य निर्माणका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर प्रदान गरेको बताए।
उनले गणतन्त्रले देशवासीलाई एकताबद्ध बनाएको, साझा राष्ट्र निर्माणको सङ्कल्पलाई प्रेरित गरेको तथा नेपाली जनतालाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिप्रति स्वामित्वको अनुभूति दिलाएको बताए।
राष्ट्रपति पौडेलले भने, ‘गणतन्त्रले हामीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्पमा अभिप्रेरित गरेको छ। यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो।’
यस वर्ष प्रधानमन्त्रीले समारोहमा सम्बोधन नगर्ने निर्णय गरेपछि सरकारको आग्रहमा राष्ट्रपतिले विशेष समारोहलाई सम्बोधन गरेको जनाइएको छ। यसअघि गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो।
हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा विशेष समारोह आयोजना गरी देशभर विविध कार्यक्रमका साथ दिवस मनाउने गरिन्छ।














