विपद् व्यवस्थापनमा नेपाली सेना सक्रिय, ९५३ जनाको हवाई उद्धार

हिमाल प्रेस ५ जेठ २०८३ १३:४० | Tuesday, May 19, 2026
4
SHARES
विपद् व्यवस्थापनमा नेपाली सेना सक्रिय, ९५३ जनाको हवाई उद्धार

काठमाडौँ- नेपाली सेनाले विपद् व्यवस्थापन तथा खोज उद्धारमा आफ्नो सक्रियता निरन्तर बढाइरहेको जनाएको छ। विपद् व्यवस्थापन निर्देशनालयले दिएको जानकारीअनुसार विभिन्न प्रकारका विपद् तथा दुर्घटनामा सेनाले उल्लेखनीय उद्धार कार्य सम्पन्न गरेको छ।

तथ्यांकअनुसार २०८२ सालमा मात्रै सवारी दुर्घटनासम्बन्धी ५१४ वटा उद्धार कार्य गरिएको छ। त्यसैगरी मनसुनजन्य विपद्का १०९ घटनामा सेना परिचालन भएको जनाएको छ।

यस अवधिमा ९४ जना घाइते तथा बिरामीको उद्धार गरिएको छ भने नदी तथा तालबाट ८९ जनाको उद्धार गरिएको जानकारी दिइएको छ। बेपत्ताको खोजीका ४०० घटनामा सेना परिचालित भएको छ भने विविध ६९ घटनामा समेत खोज तथा उद्धार कार्य गरिएको छ।

शव निकाल्ने ७२ वटा कार्य सम्पन्न गरिएको र हवाई उद्धारमार्फत ९५३ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले पछिल्लो समय विश्वव्यापी रूपमा बढ्दै गएको विपद्को चुनौती सामना गर्न आफू सदैव तयारी अवस्थामा रहेको जनाएको छ।

नेपालको संविधानले निर्देशित गरेको विपद् व्यवस्थापनको जिम्मेवारी पूरा गर्न साधनस्रोत, जनशक्ति, तालिम, अभ्यास तथा पूर्वतैनाथीलाई प्राथमिकतामा राखिएको सेनाको भनाइ छ।

सेनाले राष्ट्रिय, प्रदेश तथा स्थानीय तहबीच समन्वय, सहकार्य र सहयोग क्रमशः बढ्दै गएको बताउँदै प्रभावकारी राष्ट्रिय विपद् प्रतिकार्य क्षमता विकासका लागि सम्बन्धित निकायबीच एकीकृत प्रयास आवश्यक रहेको औँल्याएको छ।

जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण तथा तीव्र विकास गतिविधिका कारण आगामी दिनमा विपद्का घटना अझ बढ्न सक्ने भएकाले पूर्वतयारी र शीघ्र प्रतिकार्य क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने सेनाको निष्कर्ष छ।

विगतदेखि विपद्‌मा सक्रिय

नेपाली सेनाले विगत लामो समयदेखि भूकम्प, बाढी, पहिरो, आगलागी तथा महामारीजस्ता विपदमा खोज, उद्धार तथा राहत कार्य गर्दै आएको छ।

सेनाले १९९० सालको विनाशकारी भूकम्प, २०३० सालको सिंहदरबार आगलागी, २०४५ सालको उदयपुर भूकम्प, २०५० सालको मध्य क्षेत्रको भीषण बाढी, २०६५ सालको कोशी ब्यारेज बाढी, २०६६ सालको जाजरकोट झाडापखाला तथा हैजा महामारी, २०७१ सालको सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको महाभूकम्प, २०७६ सालको कोभिड महामारी, २०८० सालमा बझाङ, रुकुम पश्चिम र जाजरकोटमा गएको भूकम्प तथा २०८१ सालको बाढीपहिरो र डुबानमा सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ।

प्रकाशित: ५ जेठ २०८३ १३:४० | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast