काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित निकालेको छ। आइतबार राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो। मुम्बईले दिएको १६७ रनको लक्ष्य बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो।
बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी खेले। यस्तै, जकोब बेथेलले २७, जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रन जोडे। मुम्बईका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो। मुम्बईका तिलक वर्माले ५७ रनको अर्धशतकीइ इनिङ खेले। यस्तै, नमन धिरले ४७, रोहित शर्माले २२, राज बावले १६ तथा विल ज्याक्सले १० रनको योगदान दिए। बैंगलुरुका भुवनेश्वर कुमारले सबैभन्दा बढी ४ विकेट लिए।
यो जितसँगै ११ खेलबाट १४ अंकका साथ रोयल च्यालेन्जर्स बैंगलुरु अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित मुम्बई इन्डियन्सको समान खेलबाट ६ अंक रहेको छ। यो हारसँगै मुम्बई प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ।
अंक तालिकामा १४–१४ अंक भएका सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।



