काठमाडौँ- पश्चिम एसियमा भएको युद्धका कारण इन्धनको मूल्यमा तीव्र वृद्धि भइरहेको अवस्थामा दक्षिण-पूर्वी एसियामा विद्युतीय सवारी (ईभी) को बिक्री तीव्र रूपमा बढेको छ। कच्चा तेलको आपूर्तिमा आएको गिरावटले गम्भीर असर परेका एसियाली देशहरूमा उपभोक्ताहरू पेट्रोल-डिजेलको बढ्दो लागतबाट बच्न ईभीतर्फ आकर्षित भइरहेको समाचार एजेन्सीले एपीले उल्लेख गरेको छ।
यस अवस्थाबाट सबैभन्दा बढी फाइदा भियतनामको अग्रणी ईभी कम्पनी विनफास्ट र चिनियाँ उत्पादक बीवाईडीले लिएका छन्। मार्चमा भियतनाममा विनफास्टको बिक्री २७ हजार ६ सयवटा भएको छ। समाचारअनुसार यो १२७ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीका अनुसार अहिले ग्राहकले गाडी खरिद गर्दा इन्धन खर्चलाई सबैभन्दा महत्त्वपूर्ण मापदण्डका रूपमा लिन थालेका छन्। यसैगरी ठूलो संख्यामा पेट्रोल सवारीबाट विद्युतीय सवारीतर्फ रूपान्तरण भइरहेका छन्।
थाइल्यान्डको बैंकक अटो सोमा बीवाईडीले सबैभन्दा धेरै अर्डर पाएको छ भने फिलिपिन्समा पनि डिलरसिपहरूमा ग्राहकहरूको ठूलो भीड देखिएको छ। युद्ध सुरु भएयता तेलको मूल्य करिब ५० प्रतिशतले बढेर प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।




