काठमाडौँ- ओपनर वैभब सुर्यवंशीको आक्रामक शतकका बाबजुद राजस्थान रोयल्स सनराइजर्स हैदराबादसँग आईपीएलमा पराजित भएको छ। जयपुरमा रहेको घरेलु मैदानमा शनिबार राति भएको खेलमा राजस्थान हैदराबादसँग ५ विकेटले पराजित भयो। राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदराबादले १८ दशलमव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। हैदराबादको लगातार चौथो जितमा इशान किसनले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले। उनले ३१ बलको सामना गरेर ११ चौका र ३ छक्का प्रहार गरे।
हैदराबादले पहिलो विकेटका रुपमा ट्राभिस हेडलाई ६ रनमै गुमाएकोमा दोस्रो विकेटका लागि इशानले अभिषेक शर्मासँग मिलेर ५५ बलमा १३२ रनको विस्फोटक साझेदारी गर्दै टिमलाई जितको आधार तयार गरे। अभिषेक २९ बलमा ११ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन पर्किए। नितिश कुमार रेड्डी १८ बलमा ३६ र हेनरिक क्लासेन २९ रनमा आउट हुँदा साहिल अरोरा र अनिकित बर्मा १ रनमा अविजित रहँदै पेभेलियन फर्किए। राजस्थानका लागि जोफ्रा आर्चरर ब्रिजेस शर्माले समान २ तथा डेनोभन फरेराले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २२८ रनको विशाल योगफल तयार गरेको थियो। राजस्थानका लागि ओपनर वैभब सुर्यवंशीले १०३ रनको शतकीय इनिङ खेलेका थिए। उनले ३७ बलको सामना गरेर ५ चौका र १२ छक्का प्रहार गरेका थिए। वैभबले आइपिएल इतिहासमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने तेस्रो ब्याटरका रुपमा आफ्नो नाम लेखाए। वैभबले यस खेलमा ३७ बलमा शतक पूरा गरेका थिए। सूचीको पहिलो स्थानमा क्रिस गेल र दोस्रो स्थानमा वैभब नै रहेका छन्।
अर्का ओपनर यशस्वी जैसवाल १० रनमा आउट भए पनि धुव्र जुरेलसँग दोस्रो विकेटका लागि सुर्यवंशीले ११२ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। जुरेल ३५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भएका थिए।
डेनोभन फरेरा ३३, शिमरन हिटमायर ११ रनमा आउट हुँदा रविन्द्र जडेजा र जोफ्रा आर्चर अविजित रहे। हैदराबादका लागि इशान मालिङ्गाले २ तथा प्रफुल हिङ्गे, कप्तान प्याट कमिंस, साकिब हुसैन र नितिश कुमार रेड्डीले समान १ विकेट लिए।
पन्जाबको कीर्तिमानी जित
पन्जाब किंग्सले १९औं संस्करणको आइपीएलमा अर्को कीर्तिमानी जित हासिल गरेको छ। दिल्ली क्यापिटल्सको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा शनिबार सम्पन्न दिनको पहिलो खेलमा पाहुना टोली पन्जाब ६ विकेटले विजयी भएको हो। सातौं खेलमा अपराजित यात्रा कायमै राख्ने क्रममा पन्जाबले दिल्ली दिएको २६५ रनको लक्ष्य १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै आफ्नै कीर्तिमान तोडेको छ।
पन्जाबले आईपीएल इतिहासमा नै सर्वाधिक लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको छ। पन्जाबले सन् २०२४ को संस्करणमा कोलकाता नाइट राइडर्सकाविरुद्ध आफैले बनाएको कीर्तिमान तोडेको हो। त्यस समय पञ्जावले २६२ रनको लक्ष्य पूरा गरेको थियो।
शनिबार भएको दिल्लीविरुद्धको खेलमा ऐतिहासिक जित दिलाउन ओपनर प्रभसिमरन सिंहले ७६ रनको अर्धशतकीय इनिङ खेले। उनले २६ बलको सामना गरेर ९ चौका र ५ छक्का प्रहार गरे। पहिलो विकेटका लागि प्रियाशं आर्यसँग ४१ बलमा १२६ रनको विस्फोटक साझेदारी गर्दै टोलीलाई जितको आधार दिलाए।
आइपिएल इतिहासमा पावर प्लेमा दोस्रो सर्वाधिक रन जोड्ने क्रममा उनीहरुले ११६ रन बनाएका थिए। प्रियाशं १७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४३ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान श्रेयश अय्यर ३६ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे। नेहाल बढेरा २५ तथा कुपर कोनली १७ रनमा आउट हुँदा शशाक सिंह १९ रनमा अविजित रहे। दिल्लीका लागि कुलदिप यादवले २ तथा अक्षर पटेल र विपराज निगमले समान १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर केएल राहुलको कीर्तिमानी शतकको सहयोगमा निर्धारित २० ओभरमा २ विकेट गुमाएर २६४ रनको योगफल तयार गरेको थियो।
दिल्लीका लागि ओपनर राहुलले ६७ बलमा १६ चौका र ९ छक्काको सहयोगमा अविजित रहँदै १५२ रन जोडेका थिए। आईपीएल इतिहासमा १५० रन पार गर्ने पहिलो ब्याटर बनेका राहुलले सर्वाधिक व्यक्तिगत रनको तेस्रो स्थानमा रहे। उनी अगाडी क्रिस गेल र ब्रेन्डम म्याकुलम रहेका छन्। पहिलो विकेट २८ रनमा गुमाएको दिल्लीका लागि राहुलले नितिश राणासँग मिलेर २२० रनको साझेदारी गर्दै टोलीलाई विशाल योगफलमा पुर्याएका थिए।
नितिश ४४ बलमा ११ चौका र ४ छक्काको सहयोगमा ९१ रनमा आउट भए। ओपनर पथुम निशंका ११ रनमा आउट हुँदा डेबिड मिलर ३ रनमा अविजित रहे। पन्जाबका लागि अर्शदिप सिंह र जेभियर ब्राटलिले समान १ विकेट लिए। पन्जाब ७ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा यथावत रहँदा दिल्ली समान खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ।




