सुकुमवासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

हिमाल प्रेस ६ वैशाख २०८३ १४:०३ | Sunday, April 19, 2026
18
SHARES
सुकुमवासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुमवासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेसविज्ञप्तिमा यस्तो कदमलाई अमानवीय भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा सुकुमवासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। ‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।

नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ।

पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लंघन हुने उल्लेख गरिएको छ।

वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ। तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुमवासी, किसान, मजदुर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। ‘लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०८३ १४:०३ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast