सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा चुनौती देखियो : प्रहरी महानिरीक्षक

हिमाल प्रेस १० वैशाख २०८३ १६:२८ | Thursday, April 23, 2026
4
SHARES
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा चुनौती देखियो : प्रहरी महानिरीक्षक नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा चलेका सामाजिक सञ्जालहरु दर्ता नभएका कारण अनुसन्धानमा चुनौति देखिएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक कार्कीले फेसबुक, इन्स्टाग्रामलगायतका विदेशी सामाजिक सञ्जालहरु नेपालमा दर्ता नहुँदा अनुसन्धानमा चूनौति देखिएको बताएका हुन्।

उनले सामाजिक सञ्जालबाट समयमा नै जानकारी प्राप्त गर्न नसक्दा र आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा स्पष्ट कानुनी व्यवस्था नहुँदा क्षति नियन्त्रणमा ढिलाई हुने गरेको धारणा राखे। अहिले प्रहरी अधिकारीहरुले व्यक्तिगत सम्बन्धका आधारमा सामाजिक सञ्जाल प्रदायकसँग आवश्यक डाटा प्राप्त गरिरहेको उनको भनाइ छ।

कार्कीले प्रहरीको तीनवर्षे रणनीति योजना छिटै सार्वजनिक गर्ने र त्यसमा साइबर बुलिङका विषयमा स्पष्ट नीति ल्याइने जानकारी दिए। पीडितहरुको गोपनीयतालाई समेत ख्याल गर्दै साइबर बुलिङका घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखिएको उनले बताए।

उनले साइबरसम्बन्धी विषयहरुलाई पहिले काठमाडौँबाट मात्रै अनुसन्धान हुने गरेकोमा अहिले काठमाडौँ बाहिरबाट पनि अनुसन्धान हुने गरेको बताए।

महानिरीक्षक कार्कीले प्रहरीको साइबर व्युरोमा गत वर्ष १८ हजार ९ सय २६ उजुरी परेकामा यस आर्थिक बर्षको ९ महिनामा मात्रै झण्डै १५ हजारको संख्यामा उजुरी दर्ता भएको जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले साइबर सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सञ्जालको नियमनसम्बन्धी नीति निर्माण प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: १० वैशाख २०८३ १६:२८ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast