सुर्खेत– तीन वर्षअघि वीरेन्द्रनगर नगरपालिका-७ की ६६ वर्षीया मन्धरी नेपालीलाई महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता थियो। अपांगतासमेत भएकी उनलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल पर्दा सामान्य उपचार गर्न पनि समस्या थियो। वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो।
कार्यक्रम सुरु भएपछि उनलाई स्वास्थ्य सेवा लिन सहज भयो। ‘अपांग पनि छु, सुगर, प्रेसरको पनि बिरामी छु,’ उनले भनिन्, ‘नियमित जाँच गरेर औषधी ल्याउने पनि पैसा हुन्थेन, नगरपालिकाले निःशुल्क बिमा गरिदिएपछि अहिले धेरै सजिलो भएको छ।’
नगरपालिकाले आफ्नो परिवारका पाँच सदस्यको स्वास्थ्य बिमा गरिदिएपछि स्वास्थ्य सेवा लिनका लागि निकै सहज भएको अनुभव मन्धरीले गरिन्। नगरपालिकाले थालेको कार्यक्रमबाट नगरभित्रका अति विपन्न र गरिबलाई स्वास्थ्य सेवा लिन सहज भएको छ। नगरपालिकाका अनुसार कार्यक्रमबाट ३० भन्दा धेरै विपन्नले लाभ लिएका छन्। बिमा गर्दा सुरुमा लाग्ने ३५ सय रुपैयाँ रकम नगरपालिकाले नै तिरिदिन्छ।
नगरकार्यपालिकाको पहिलो बैठकले विपन्न, ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याउनेलगायत विभिन्न निर्णय गरेको थियो।
२०७४ को निर्वाचनमा उपप्रमुख हुँदै २०७९ को निर्वाचनमा प्रमुखमा निर्वाचित भएपछि नगरप्रमुख ढकाललाई आफूले उपप्रमुख हुँदा अधुरै छोडेका काम पूरा गर्ने अवसर पनि मिल्यो। ती कामबाट आफूहरूको जिन्दगी सहज भएको यहाँका स्थानीय महिलाहरू बताउँछन्। महिला मेयर भएकाले आफ्ना सुखदुखमा नगरपालिकाले साथ दिँदै आएको उनीहरूको भनाइ छ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि मोहनमाया ढकालले नगरभित्रका महिला, बालबालिका, विपन्न, सीमान्तकृतलगायतका नागरिकको स्वास्थ्य, शिक्षा र सहजसेवालाई प्राथमिकतामा राखेकी छन्।
वीरेन्द्रनगर नगरपालिकाले चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने भन्दै ६ वर्षअघि यो कार्यक्रम ल्याएको थियो। उपप्रमुख ढकाल आफू प्रमुख भएपछि पनि कार्यक्रमलाई निरन्तरता दिइरहेकी छिन्।
‘समृद्ध वीरेन्द्रनगरको आधार : एक घर एक महिला रोजगार’ कार्यक्रम अन्तर्गत महिलालाई स्वरोजगार बनाउनका लागि व्यवसायका आधारमा ५० प्रतिशत बिना ब्याजको ऋण र ५० प्रतिशत अनुदान दिने गरिएको छ।
नगरपालिकाले अनुदानमा तालिम लिएका महिलामध्ये हाल ३६ जना महिलाले अटो चलाइरहेका छन्। महिला स्वरोजगार कार्यक्रमअन्तर्गत धेरै महिला विभिन्न रोजगारमूलक काममा आवद्ध भएको प्रमुख ढकालले जानकारी दिइन्।
वीरेन्द्रनगर नगरपालिका-५ कालिका मन्दिरकी ३३ वर्षीया लक्ष्मी नेपालीले महिलाको नेतृत्व भएकाले आफ्नो कुरा बुझेको बताइन्। उनलाई ६ वर्षअघि घर व्यवहार धान्न मुस्किल थियो। श्रीमान्को कमाइले मात्र छोराछोरीको पढाइ र अन्य खर्च व्यवस्थापन गर्न कठिन भइरहेको थियो। त्यही समयमा वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रमअन्तर्गत अटो रिक्सा चलाउने तालिम दिएपछि अहिले उनको जीवन फेरिएको छ।
घरधन्दामै बित्ने उनको दिन अहिले अटोको धपेडीमा बित्छ। लक्ष्मी अहिले श्रीमान्सँगै अटोरिक्सा चलाएर दैनिक तीन हजार बढीको कारोबार गर्छिन्। उनी भन्छिन्, ‘सबै खर्च कटाएर एक हजार त बचत गर्छु। आफूले आम्दानी गर्न थालेपछि आत्मविश्वास र आँट पनि बढेको छ।’
वीरेन्द्रनगर-२ की ४५ वर्षीया सीता गौतम चार वर्षदेखि कृषि पेसामा आबद्ध छिन्। वीरेन्द्रनगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिउ टनेल उपलब्ध गराएपछि उनको जीवनले पनि कोल्टे फेर्यो। नगरपालिकाले बोरिङ पनि दिएपछि खानेपानी र सिँचाइ गर्न सजिलो भएको छ। उनले भनिन्, ‘अहिले तरकारी खेतीबाट वार्षिक रूपमा कहिल्यै दुई लाख त कहिले तीन लाख आम्दानी हुने गरेको छ।’
वीरेन्द्रनगरको नेतृत्व ढकालको हातमा आएपछि मन्धरी, लक्ष्मी र सीताजस्ता धेरै महिलाको जीवन फेरिएको छ। प्रमुख ढकालले ‘छोरी हुनुमा गर्व गर’ भन्ने नारा सहित बालविवाह, बहुविवाह, बालश्रममुक्त नगर जस्ता अभियान पनि सञ्चालनमा ल्याएकी छन्।
महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार, मेयरसँग महिला किसानलगायत दर्जन बढी महिलासम्बन्धी योजना सञ्चालनमा छन्।
छोरी बचत खाताअन्तर्गत वीरेन्द्रनगरमा जन्मिएका एक हजारभन्दा बढी छोरीहरुको बैंक खाता खोल्न सफल भएको उनले बताइन्।
यस्तै नगरपालिकाले गर्भवती तथा सुत्केरीको स्वास्थ्य सुरक्षाका लागि ‘हेलो गर्भवती आमा’ कार्यक्रम सञ्चालन गरिरहेको छ, जसअन्तर्गत दक्ष स्वास्थ्यकर्मीहरुले फोनमार्फत परामर्श, स्वास्थ्य सल्लाह र सुत्केरी पूर्व/पछिको जानकारी घरमै उपलब्ध गराउँछन्।
महिलाका लागि निःशुल्क स्यानिटरी प्याड, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्सरे कार्यक्रम पनि सञ्चालन गरिएको र ती कार्यक्रम एकदमै प्रभावकारी भएको उनको दाबी छ। यीमध्ये कतिपय कार्यक्रम त उनले उपप्रमुख हुँदा नै सञ्चालनमा ल्याएकी थिइन्।
नगरमा सुधारको थालनी
वीरेन्द्रनगरको नेतृत्वमा आफू आएपछि नगर सुधारका लागि धेरै काम थालनी गरेको ढकाल बताउँछिन्। वीरेन्द्रनगरलाई ‘शैक्षिक हब’ को रूपमा विकास गर्न नगरपालिकाले १० वर्षे शैक्षिक रणनीति तयार पारेको छ।
२०९० सालसम्म प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिने उनी बताउँछिन्।

उनका अनुसार पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालय सबलीकरण, अनौपचारिक शिक्षा, दूर शिक्षा तथा खुला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई उक्त शिक्षा मोडेलले जोड्नेछ।
‘उज्यालो र सुरक्षित वीरेन्द्रनगर’ अभियानअन्तर्गत चोक र मुख्य सडकमा हाई मास लाइट र सीसीटीभी क्यामेरा जडान भएका छन्। नगरपालिकाले मुख्यबजारमा फुटपाथ खाली गराएको छ।
सार्वजनिक जग्गाको संरक्षणमा कडाइका साथ लागेको उनी बताउँछिन्। वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न अघि सारिएको भेरी लिफ्ट खानेपानी आयोजनाको अहिले धमाधम काम भएको छ। यो योजना सम्पन्न भए वीरेन्द्रनगरवासीले भोगिरहेको खानेपानी संकटको समस्या समाधान हुने भन्दै उनले आगामी ५० वर्षसम्म पानीको अभाव झेल्न नपर्ने बताइन्।
कर्णालीका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले वीरेन्द्रनगरले पछिल्ला वर्षहरुमा धेरै फड्को मारेको बताए। आफू सुर्खेतको प्रमुख जिल्ला अधिकारी हुने बेलादेखि नै नगरप्रमुख मोहनमाया ढकालको काम हेरिरहेको भन्दै उनले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको क्षेत्रमा धेरै काम भएको उल्लेख गरे।
‘महिलालाई नेतृत्वमा त्यति सहज छैन तर वीरेन्द्रनगरका प्रमुखले चुनौती झेल्दै काम गर्नुभएको छ,’ उनले भने, ‘काम सबै एकैपटक हुँदैनन्, केही नभएका काम पनि छन् तर हामीले सबै नकारात्मक तर्फबाट मात्रै हेर्न हुँदैन, काम गर्नेलाई जनताले पनि सहयोग गर्नुपर्छ।’
भौतिक पूर्वाधारका योजनामा भएन काम
नगरप्रमुख ढकालको नेतृत्वले नगरलाई समृद्ध बनाउनका लागि विभिन्न योजना अगाडि सारेपनि कार्यान्वयनमा अझै समस्या देखिएको भनेर उनको आलोचना पनि हुने गरेको छ।
वीरेन्द्रनगर-१ का लोकबहादुर गुरुङले नगरभित्रको फोहोर व्यवस्थापन नहुँदा सबैभन्दा ठूलो समस्या आफ्नो समुदायले भोगेको बताए।
‘ल्यान्डफिल्ड साइट अहिलेसम्म बनेको छैन,’ उनले भने, ‘हामी घरमा बस्न नसक्ने अवस्था हुन्छ। फोहोरको दुर्गन्धले, स्वास्थ्यमा समस्या देखिन्छ। फोहोरमा लगाएको आगोको धुवाँले निकै असर गरेको छ तर नगरपालिकाले वास्ता गर्दैन।’ लामो समयदेखि फोहोर व्यवस्थापन गर्छौँ भनी प्रतिबद्धता जनाए पनि काम भने नगरेको गुरुङको गुनासो छ।
प्रमुख ढकालका अनुसार नगरपालिकाको फोहोरमैला दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल निर्माण गरिएको छ भने फोहोरबाट मोहोर कार्यक्रम सञ्चालनमा छ।
वीरेन्द्रनगर वातावरण र दिगो व्यवस्थापनमा देशकै उत्कृष्ट पालिकाको रूपमा तीन वर्ष अघि नगरपालिका महासंघबाट पुरस्कृत भएको थियो। फोहोर व्यवस्थापनबाट वार्षिक ३० लाख रुपैयाँ राजस्व संकलन हुने गरेको छ।
नगरपालिकाको ढल निकास प्रणाली व्यवस्थित नहुनु अर्को मुख्य समस्या हो। वर्षायाममा निकास नहुँदा वीरेन्द्रनगरको तल्लो क्षेत्रका वस्ती डुवानमा पर्ने गरेका छन्। ‘धेरै बस्ती डुबानमा पर्ने गरेका छन्। पानी जमेर सडक हिलाम्मे हुने, घरभित्रै पानी पस्ने समस्या बर्सेनि दोहोरिने स्थानीय टीकाराम शर्मा बताउँछन्।
‘सानो पानी पर्दा पनि बाटो हिँड्न नसकिने अवस्था हुन्छ,’ उनले भने, ‘ढल निकास बनाउने कुरा वर्षौँदेखि सुनिरहेका छौँ तर काम भएको छैन।’ अर्का स्थानीय सुरेन्द्र कार्कीले सडक तथा शहरी पूर्वाधारतर्फ पनि उल्लेखनीय सुधार नभएको गुनासो गरे।
‘भित्री सडकहरू हेर्न जानुस् त कस्तो छ अवस्था ?’ उनले भने, ‘हाम्रा जनप्रतिनिधि त्यहाँ पुगेका छन् कि छैनन्, नगरभित्रै पनि विश्वासै गर्न नसकिने सडक छन्, नागरिकले कति सास्ती भोगिरहेका छन्।’
बजार क्षेत्रमा पार्किङ व्यवस्थापन स्पष्ट नहुँदा जाम बढ्दो छ भने शहरी सौन्दर्यकरणका काम पनि अधुरा रहेको उनले बताए। नगरवासीले वर्षौँदेखि भोग्दै आएको नगरपालिकाको खानेपानी समस्या मुख्य समस्या हो।
नगरपालिकाले भेरी नदीको पानी पम्पिङ गरेर उपत्यकामा पानी ल्याउने योजना अगाडि सारेको करिब दस वर्षपछि अहिले बल्ल काम सुरु भएको छ। बढ्दो जनसंख्याका कारण नगरभित्र खानेपानीको समस्या खडेरीको समयमा बढ्दो छ।
कतिपय वडामा अझै नियमित पानी नआउने, ट्यांकरमा निर्भर हुनुपर्ने अवस्था रहेको वीरेन्द्रनगर-७ की इन्दिरा केसीले बताइन्। नगरपालिकाले योजना घोषणा गर्ने तर ती योजनाको स्पष्ट प्राथमिकता, समयसीमा र कार्यान्वयन ढाँचा नहुँदा परिणाम आउन नसकेको नगरवासीको गुनासो छ।
सुर्खेतका विभिन्न क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघका विभिन्न चार एजेन्सीको सहकार्यमा महिला सशक्तीकरणका लागि समृद्ध महिला सशक्त नेपालजस्ता अभियानको सफल कार्यान्वयनको नेतृत्व पनि ढकालकै काँधमा छ।
लैंगिक हिंसाको मार खेपेका महिला हुन् वा लामो समयदेखि जातीय र अन्य भेदभाव खेपेका समुदाय, ढकालको अगुवाइमा विभिन्न अभियानले महिलाहरूलाई आफूले चाहेमा गर्न सकिन्छ भन्ने आत्मविश्वास दिन भूमिका खेलेको ढकालको अनुभव छ।
कति प्रशंसा र कतिपय आलोचनाका बीच पनि वीरेन्द्रनगरको नेतृत्व हाँकिरहेकी मोहनमायाको राजनीतिक करियर सुरु भएको भने स्कुल पढ्दैदेखि हो। २७ चैत २०३६ मा वीरेन्द्रनगर-१६, गर्पन मेहेलीको एक सामान्य परिवारमा जन्मिएकी ढकाल कुनै अभाव र विभेदको सामना नगरी हुर्किएकी हुन्। उनी किशोरावस्थामा पुग्दा देशमा पञ्चायतको जगजगी थियो। वीरेन्द्रनगरको अमरज्योति माविमा कक्षा ८ मा पढ्दा १४ वर्षको उमेरमा उनी नेकपा एमाले निकट विद्यार्थी संगठनमा जोडिएर राजनीतिक जीवन थालिन्।
शिक्षा क्याम्पस सुर्खेतमा पढ्न आएपछि २०५६ सालमा क्याम्पसको विद्यार्थी राजनीतिमा प्रवेश गरिन्। २०६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमा सक्रिय ढकाल २०६२ मा पार्टी राजनीतिमा प्रवेश गरेकी हुन्। हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्य छिन्।
राजनीतिशास्त्रमा स्नातकोत्तर ढकालले उपप्रमुखमा निर्वाचित भएसँगै कानुनमा पनि स्नातक गरेकी छन्। अध्ययन र निर्णय क्षमताका कारण उनी कर्णाली प्रदेशमै न्यायिक समितिमध्ये अब्बल काम गर्ने उपप्रमुख थिइन्। २०७४ मा भएको निर्वाचनमा सर्वाधिक मतका साथ वीरेन्द्रनगरको उपप्रमुखमा जित हासिल गरेकी उनलाई ०७९ को स्थानीय निर्वाचनमा पनि नगरवासीले राजधानी सहरको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिए।
उपमेयर हुँदा स्थानीय तहबारे नजिकबाट बुझ्ने मौका पाएको र मेयर भएपछि आमा र छोरीको हितमा एक दर्जन जति कार्यक्रम बनाएको तथा विकासका केही दीर्घकालीन महत्वका योजना अगाडि सारेको ढकालको भनाइ छ। आफूले थुप्रै कामहरूको सुरुवात गरेपनि परिणाम देखिन समय लाग्ने उनले बताइन्।
संविधानले समावेशिताको हक प्रत्याभूत गरे पनि राजनीतिक दलहरूले महिलालाई कोटामै सीमित गर्न खोजेकोमा उनलाई चित्त बुझेको छैन। ‘प्रतिस्पर्धा गर्दै नेतृत्वमा पुग्नका लागि प्रोत्साहन नगरिने र नेतृत्वमा पुगे पनि काम गर्न नदिने प्रवृत्तिलाई मैले तोड्न खोजेको छु,’ उनले भनिन्।





