क्रिकेटमा परिवर्तनको आभास : अब दुई फरम्याटमा दुई कप्तान, दुई टिम

हिमाल प्रेस ५ वैशाख २०८३ ८:०२ | Saturday, April 18, 2026
4
SHARES
क्रिकेटमा परिवर्तनको आभास : अब दुई फरम्याटमा दुई कप्तान, दुई टिम

काठमाडौँ- नेपाली क्रिकेट टोलीले पहिलो पटक टी २० (२० ओभर) र एकदिवसीय (५० ओभर) क्रिकेटमा फरक कप्तानको चयन गरेको छ।

आगामी सोमबार र मंगलबार यूएईसँग घरेलु मैदानमा दुई खेलको टी २०आई शृंखलाको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। यसअघिका टी २० कप्तान रोहितकुमार पौडेल भने टी २० फरम्याटमा देखिने छैनन्। उनले ओडीआई सम्हाल्नेछन्। पहिलो पटक क्यानले नेपाली क्रिकेटमा फरक प्रयोग गर्न खोजेको हो।

कतिपयले क्रिकेटमा परिवर्तनको आभास भएको बताएका छन्। क्रिकेट विश्लेषक हेमराज हमालले अन्य देशजस्तै क्यानले नेपालमा पनि नयाँ तवरको प्रयोग गर्न खोजेको बताएका छन्। उनी यो किसिमको प्रयोग किन क्यानले गर्‍यो भन्ने एकिन जबाफ नभए पनि दुई किसिमका टोली सन्तुलित बनाउनका लागि भएको हुन सक्ने बताउँछन्।

टी २० का नियमित कप्तान रोहितसहित अनुभवी सिनियर खेलाडी सोमपाल कामी र करण केसी टी २०आई टोलीबाट बाहिरिएका छन् । नियमित खेलाडी आसिफ शेख पनि समावेश छैनन् । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी २० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ।

ऐरीको कप्तानीमा रहेको टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्। यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी २० आई टोलीमा स्थान बनाएका छन्।  रोहित भने १५ सदस्यीय टोलीमै परेका छैनन्। यूएईसँग अब हुने दुई खेल यही कारण ऐतिहासिक हुनेछ, फ्लडलाइटमा पहिलो अन्तर्राष्ट्रिय खेल हुने भएर ।

नेपालको टी २०आई टोली पहिलेझैं अलराउन्डरले भरिएको छ । १५ सदस्यीय टोलीमा दुई विकेटकिपर ब्याटर समावेश छन् भने प्रपर ब्याटरका रूपमा सन्दीप जोरा मात्र छन् । बाँकी १२ जनामध्ये कप्तान दीपेन्द्रसहित ८ जना अलराउन्डर छन् भने ४ जना बलर छन् । बलरमध्ये २ जना स्पीनर छन् भने २ जना पेसर छन् । नेपालको बलिङ विकल्प भने प्रशस्त देखिन्छ । फूल टाइम बलरका रूपमा नन्दन यादव, हेमन्त धामी, सन्दीप लामिछाने र शाहब आलम छन् ।

बाँकी बलिङ विकल्पका रूपमा कप्तान दीपेन्द्रसहित कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, सन्तोष यादव र शेर मल्ल छन् । यीमध्ये आरिफ र गुल्शन मात्र पेस बलिङ विकल्प हुन् । आरिफले पछिल्लो समय खासै बलिङ गरेका छैनन् । त्यसकारण प्लेइङ ११ मा गुल्शनले पनि केही ओभर बलिङ गर्ने देखिन्छ । नेपालको प्लेइङ ११ मा पनि पहिलेभन्दा परिवर्तन देखिने पक्का छ ।

ओपनिङमा कुशल भुर्तेल हुनेछन् भने आसिफको अनुपस्थितिमा उनीसँग लोकेश बमले सुरुवात गर्ने सम्भावना छ । लोकेश र साउदमध्ये एकले खेल्नैपर्ने हुन्छ । मिडल अर्डरमा कप्तान दीपेन्द्रसहित सन्दीप जोरा, कुशल मल्ल, गुल्शन झा र आरिफ शेखको विकल्प छ । तल्लोक्रममा सन्तोष यादव र शेर मल्लको विकल्प छ ।

नन्दन यादव र हेमन्त धामी दुवै मुख्य पेस बलरका रूपमा रहनेछन् भने सन्दीप लामिछाने र शाहब आलम दुई स्पीनर हुनेछन् । नेपाली क्रिकेटमा लामो समयसम्म करण केसी र सोमपाल कामी दुई मुख्य पेस बलरका रूपमा रहँदै आएका थिए । अब हुने टी २०आई खेलमा यी दुवै खेलाडी देखिने छैनन् ।

नेपालको टी २०आई टोली : दीपेन्द्रसिंह ऐरी/कप्तान, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

नेपालको ओडीआई टोली : रोहित पौडेल/कप्तान, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी

 

 

प्रकाशित: ५ वैशाख २०८३ ८:०२ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast