बाजुरामा पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे

हिमाल प्रेस १६ वैशाख २०८३ १२:३५ | Wednesday, April 29, 2026
8
SHARES
बाजुरामा पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे

बाजुरा- हावाहुरीसहित वर्षा,पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीस्थित वनमा चराउन लगेका चौपाया घर फर्काउनेक्रममा मंगलबार साँझ परेको वर्षासँगै आएको पहिरो र चट्याङबाट १६ भेडाबाख्रा मरेका र ३८ वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार सोही गाउँपालिका-२ का स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडाको मृत्यु, नौवटा बेपत्ता, अमृत ल्वारका तीन वटा भेडा पहिरोमा परी मरेका, १४ बेपत्ता भएको प्रहरी प्रवक्ता शाहीले बताए।

भीषण वर्षापछि आएको पहिरोमा पुरिएर सोही वडाका स्थानीय किसानका पाँचवटाको मृत्यु, १० वटा बेपत्ता र ऐनबहादुर विष्टका तीनवटाको मृत्यु, पाँचवटा बाख्रा बेपत्ता भएको छ।

त्यसैगरी,त्रिवेणी नगरपालिका-९ पैमाको खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लागेर तीनवटा भेडाबाख्रा मरेका छन्। मंगलबार बेलुकी आएको हुरीबताससहित असिनापानी र चट्याङका कारण ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

यस्तै मंगलबार आएको हुरीका कारण खप्तड छेडेदह गाउँपालिका-१ काँडाको काँट्यामा स्थानीय वीरे रावलले सञ्चालन गरेको पसल उडाएर क्षति भएको छ। स्थानीय व्यापारी रावलको काठ र जस्तापाताले बनाएको भुइँतले पसल हुरीले उडाएर लत्ताकपडासहित सिलाउने मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ।

बताससहित वर्षाले क्षति पुर्‍याएको प्रहरी चौकी कुन्ना, प्रहरी चौकी बडीमालिका र प्रहरी चौकी काँडाबाट प्रहरी टोली खटिइ क्षतिको विवरण संकलन भइरहेको प्रहरी प्रवक्ता शाहीले जानकारी दिए।

यसैगरी बताससहित असिनापानीका कारण पाकेको गहुँ बालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १२:३५ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast