वैदिक अनुसन्धान गुठीको अर्को प्रकाशन ‘वैदिक पञ्चाङ्गम्’

हिमाल प्रेस ३० फागुन २०८२ १४:५० | Saturday, March 14, 2026
66
SHARES
वैदिक अनुसन्धान गुठीको अर्को प्रकाशन ‘वैदिक पञ्चाङ्गम्’

काठमाडौँ- वैदिक अनुसन्धान गुठी (वाग्) ले प्रकाशित गरेको २०८३ सालको ‘वैदिक पञ्चाङ्गम्’ बजारमा आएको छ। नवपाठक, ज्योतिषशास्त्र तथा धर्मशास्त्रमा चासो राख्नेहरू, पुरोहित तथा गृहस्थहरूलाई उपयोगी हुने उद्देश्यले पञ्चाङ्ग प्रकाशन गरिएको गुठीले जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृतिमा हरेक वर्ष विभिन्न प्रकाशन संस्था र ज्योतिषीहरूले पञ्चाङ्ग प्रकाशन गर्दै आएका छन्। ती पञ्चाङ्गहरूको तुलनामा ‘वैदिक पञ्चाङ्गम्’मा केही भिन्न विशेषता समेटिएका छन्। यसले सामान्य प्रयोगकर्तादेखि धर्मशास्त्र र ज्योतिषशास्त्रमा रुचि राख्ने पाठकका लागि थप उपयोगी सामग्री उपलब्ध गराएको छ। नयाँ पाठकलाई लक्षित गरी सामग्री समेटिनु पनि यस पञ्चाङ्गको अर्को विशेषता हो।

यस्ता छन् ‘वैदिक पञ्चाङ्गम्’का विशेषता

पञ्चाङ्गमा नेपालको ७७ जिल्लाको अक्षांश, देशान्तर र समयान्तरसम्बन्धी विवरण समावेश गरिएको छ। यसबाट प्रत्येक जिल्लाको समयान्तर कति छ भन्ने स्पष्ट हुन्छ। यसैगरी पात्रो हेर्नका लागि आवश्यक आधारभूत जानकारी पञ्चाङ्गकै प्रारम्भमा समेटिएको छ। तिथि, बार, नक्षत्र, योग, करण, पञ्चक, भद्रा, आनन्दादियोग, अयन, संवत्सर, राशि, सौरमास, चान्द्रमासलगायत विषयका आधारभूत जानकारी नयाँ पाठकका लागि उपयोगी हुने विश्वास गरिएको छ।

पञ्चाङ्गमा वर्षभरि पर्ने प्रमुख चाडपर्वमा गरिने पूजाअनुष्ठान र स्नान विधिबारे जानकारी दिइएको छ। वेदद्वारा निर्देशित नित्य, नैमित्तिक र काम्य कर्मका लागि आवश्यक शास्त्रीय मन्त्रहरू पनि समेटिएका छन्, जसले कर्मकाण्डमा रुचि राख्नेहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैगरी ग्रहशान्तिका लागि आवश्यक निर्देशन, नवग्रहलाई दान गर्ने वस्तु, वैदिक तथा तान्त्रिक मन्त्र, स्तोत्र तथा ग्रहदशाअनुसार धारण गर्नुपर्ने रत्नबारे पनि विवरण दिइएको छ।

पञ्चाङ्गमा ग्रहहरूको वक्र र मार्ग अवस्था, सूक्ष्मतमदेखि महत्तमसम्मको कालगणनाविधि, दिन र रात्रिका मुहूर्तसम्बन्धी जानकारी समेटिएको छ। दिनमुहूर्तको उदाहरणसहित गणना विधि प्रस्तुत गरिएको छ। साथै ज्योतिषशास्त्रको प्रयोजन, पञ्चाङ्ग गणनाको आधार, हरेक दिनको सूर्योदयकालिक ग्रहस्पष्ट विवरण, ग्रह उदयास्त, ग्रहको कालांशमान तथा त्यससम्बन्धी विवरण पनि पञ्चाङ्गमा समावेश गरिएको छ। बारबेला साधनाको उदाहरण पनि यसमा समेटिएको अर्को व्यावहारिक पक्ष हो।

यसका अतिरिक्त पञ्चाङ्गमा अन्य पञ्चाङ्गमा जस्तै मासफल, संक्रान्तिफल, राशिफल, विभिन्न कार्यका मुहूर्त, २०८३ सालका शुभ साइत, सार्वजनिक बिदाका विवरण, रुद्री जुर्ने दिन तथा हवन जुर्ने दिनहरू सरल भाषामा प्रस्तुत गरिएको छ।

‘वैदिक सनातन धर्मावलम्बीहरूमा ज्योतिषशास्त्रप्रति जिज्ञासा जगाउने उद्देश्यका साथ ज्योतिषका ज्ञाता, अध्येता तथा जिज्ञासुहरूलाई समेत उपयोगी बनाउने प्रयास गरिएको छ,’ पञ्चाङ्गका संरक्षक श्री १००८ डा. स्वामी केशवानन्द गिरिले भन्नुभयो। उहाँका अनुसार आगामी संस्करणदेखि पञ्चाङ्गको एप संस्करण पनि उपलब्ध गराउने तयारी भइरहेको छ।

‘वैदिक पञ्चाङ्गम्’का पञ्चाङ्गकार गणेश लम्साल हुन् भने यसको सम्पादन उत्तम उपाध्याय न्यौपानेले गरेका हुन्। अन्य पञ्चाङ्गभन्दा ठूलो आकारमा प्रकाशित  ‘वैदिक पञ्चाङ्गम्’ को मूल्य १११ रुपैयाँ तोकिएको छ।

गुठीले संस्कृत वाङ्मयअन्तर्गत वेद, व्याकरण, छन्द, शब्दकोश तथा सनातन संस्कारसँग सम्बन्धित विषयमा शास्त्रीय तथा व्यावहारिक ग्रन्थ प्रकाशन गर्दै आएको छ। झन्डै एक दशकयता विद्यालय तहदेखि संस्कार शिक्षा तथा वैदिक अनुसन्धानका क्षेत्रमा पनि गुठी सक्रिय रहेको जनाएको छ।

हाल गुठीले महाभारत र रामायणको अनुवाद कार्य गरिरहेको छ। साथै संस्कृत-नेपाली-हिन्दी-अङ्ग्रेजी विद्युतीय शब्दकोश, धर्मकर्मसम्बन्धी विद्युतीय वेबसाइट तथा एप्लिकेसन निर्माणको काम पनि अघि बढिरहेको छ। स्तोत्र अनुवाद तथा विद्युतीय प्रकाशन, संस्कार शिक्षा निर्माण, प्रकाशन र प्रशिक्षण, शुक्ल यजुर्वेदको सम्पादन, अनुवाद तथा प्रविधिकीकरण परियोजनासमेत सञ्चालनमा रहेको गुठीले जनाएको छ।

गौरीघाटस्थित गुठीको कार्यालयमा सयौँ बालबालिकाले निःशुल्क रूपमा संस्कार शिक्षा अध्ययन गर्दै आएका छन्।

महात्माको डिजिटल दृष्टि : संस्कारलाई एआईमा उतार्दै स्वामी केशवानन्द

प्रकाशित: ३० फागुन २०८२ १४:५० | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast