काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको सुधारका विषयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विश्वविद्यालय क्याम्पस र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबीच १० बुँदे सहमति भएको छ।
सोमबार वार्तापछि भएको सहमतिअनुसार ३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा तालिका संशोधन गरिने भएको छ।
माघ १८ गतेदेखि सञ्चालन हुने भनिएको मौका परीक्षा अब माघ २५ गतेदेखि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कायम रहेको क्षेत्रमा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। आगामी दिनमा हुने मौका परीक्षा पनि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत सञ्चालन गरिनेछ।
सहमतिअनुसार मूल्यांकन प्रणालीको पुनःसंरचना तथा सेवा प्रवाह सुदृढीकरणका लागि सात दिनभित्र स्ववियु प्रतिनिधिसहितको कार्यदल गठन गरिने र सो कार्यदलको प्रतिवेदन कार्यान्वयन गरिनेछ। साथै शोधपत्र मूल्यांकन सहज बनाउन डिन कार्यालयसँग समन्वय गरिने सहमति भएको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले विश्वविद्यालयबाट स्वीकृत शैक्षिक क्यालेन्डर पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। प्राविधिक जटिलता बाहेक परीक्षाफल १०० दिनभित्र सार्वजनिक गर्ने सहमति पनि भएको छ।
परीक्षा नियन्त्रण कार्यालयका सबै सेवा क्रमशः पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाइने, कागजात डिजिटलाइज गरिने तथा सेवा शुल्क क्युआर कोडमार्फत अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाइने सहमतिमा उल्लेख छ। बैंकिङ सेवाका लागि टोकन प्रणालीसमेत लागु गरिनेछ।
यसैगरी सेवा वितरण प्रक्रिया क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत सहज र सुलभ बनाइने, कर्मचारीहरूलाई सेवा प्रवाह तथा कार्यसम्पादनसम्बन्धी तालिम प्रदान गरिने सहमति भएको छ। परीक्षा केन्द्र निर्धारण गर्दा मौजुदा कार्यविधि, भौगोलिक अवस्था, परीक्षा केन्द्रको उपलब्धता र परीक्षार्थीको सहजतालाई आधार बनाइनेछ।
विद्यार्थी गुनासा व्यवस्थापनका लागि स्थापना गरिएको हेल्प डेस्कलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाइने तथा पुनःयोग (रि-चेकिङ) को नतिजा आवेदन खुलेको ३० दिनभित्र प्रकाशन गरिने सहमति भएको छ। पुनःयोग शुल्क पुनरावलोकनका लागि केन्द्रीय परीक्षा सञ्चालक समितिमा सिफारिस गरिने पनि सहमतिमा उल्लेख छ।
सहमति भएसँगै स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा नियन्त्रण कार्यालय सुधारको माग गर्दै सञ्चालन गर्दै आएको रचनात्मक धर्ना तथा दबाबका कार्यक्रम फिर्ता लिएको छ।
प्रा.डा.लक्ष्मण पौडेल (परीक्षा नियन्त्रक) राेहवरमा वार्तामा परीक्षा नियन्त्रण कार्यालयका तर्फबाट डा. दावा शेर्पा (संयोजक, वार्ता समिति, सह परीक्षा नियन्त्रक प.नि.का), डा.कवि राज पौड्याल (सदस्य वार्ता समिति, सह परीक्षा नियन्त्रक प.नि.का), भोला सिग्देल (सदस्य सचिव, वार्ता समिति, प्रमुख, परीक्षा प्रशासन महाशाखा, प.नि.का) र स्वतन्त्र विद्यार्थी युनियको तर्फबाट दिपक राज जोशी (अध्यक्ष), सनम वली (उपाध्यक्ष), हिक्मत कुमार बुढा (सचिव), सन्च माया सुब्बा (कोषाध्यक्ष), डम्मर सिंह ऐडी (सदस्य) प्रदिप कार्की (सदस्य) थिए।



