झण्डै तीन हजारले दर्ता गराए उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १८:५९ | Tuesday, January 20, 2026
18
SHARES
झण्डै तीन हजारले दर्ता गराए उम्मेदवारी

काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभर उत्साहजनक र शान्तिपूर्णरूपमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको जनाएको छ।

आयोगले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको जनाएको हो।

देशैभर प्रत्यक्षतर्फ करिब तीन हजारको संख्यामा उम्मेदवारी दर्ता भएको छ भने पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवारको संख्या निकै न्यून रहेको आयोगले जानकारी दिएको छ। आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवारी रुपन्देही र सबैभन्दा कम उम्मेदवारी मुस्ताङमा परेको छ।

पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी गराए। अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उनको भनाइ छ।

यस्तै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उत्साह ढंगले उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको र आगामी निर्वाचनमा पनि उत्साहपूर्ण सहभागिता हुने बताए। निर्वाचनका लागि मतदानस्थलका लागि आवश्यक जनशक्तिको व्यवस्था भइसकेको उनको भनाइ छ।

उनले शान्ति सुरक्षाका विषयमा सरकारलाई सबै सुरक्षा निकायको परिचालनका लागि आग्रह गरिसकेको उल्लेख गरे। आम निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका स्थानीय र प्रदेश तहमा आयोगले उपनिर्वाचन गर्ने उनको भनाइ छ।

निर्वाचन कार्यक्रमअन्तर्गत माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।

प्रकाशित: ६ माघ २०८२ १८:५९ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast