एकीकृत समाजवादीका पूर्वकेन्द्रीय उपाध्यक्ष नेकपाबाट निस्कासित

हिमाल प्रेस १० माघ २०८२ १२:५१ | Saturday, January 24, 2026
64
SHARES
एकीकृत समाजवादीका पूर्वकेन्द्रीय उपाध्यक्ष नेकपाबाट निस्कासित

काठमाडौँ- तत्कालीन नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय उपाध्यक्ष धर्मनाथप्रसाद साह उपाध्यक्ष कारबाहीमा परेका छन्। उनलाई हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो। आज नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त विज्ञप्ति निकाल्दै उनीसहित ७ नेतालाई कारबाही गरेको जानकारी दिएका हुन्। साह कुनैबेला माधव नेपालका निकटस्थ मानिन्थे।

२०७८ सालमा एमाले विभाजन हुँदा साह माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा गएका थिए र पार्टीका केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए।

पहिलो संविधानसभा सदस्यसमेत रहेका साह एमालेबाट सामान्य प्रशासनमन्त्री भइसकेका अनुभवी नेता हुन्। माओवादी केन्द्रसहितको एकताबाट बनेको नेकपामा पनि उनी एकता प्रक्रियाको पक्षमा उभिएका थिए ।
यसपटक सिरहा–४ बाट उम्मेदवार बन्ने प्रारम्भिक सूचीमा साहको नाम रहे पनि नेकपाबाट पूर्वमाओवादी नेता अजयशंकर नायकले टिकट पाएपछि साह टिकटविहीन बनेका थिए। यहीबीच उम्मेदवारी दर्ताको अघिल्लो दिन माघ ५ गते साँझ उनको मोबाइलमा एमाले अध्यक्ष ओलीको फोन आयो। ओलीले टिकट नपाएको थाहा पाएपछि ‘आफ्नै पार्टीबाट उठ्नुस्’ भन्दै टिकट दिने प्रस्ताव गरेका थिए । साहका अनुसार ओलीले ‘उठ्ने भए म टिकट पठाइदिन्छु’ भनेपछि उनले सहमति जनाएका थिए ।

ओलीसँगको संवादपछि केही समयमै एमालेका प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठले साहलाई फोन गरी टिकट पठाउने तयारी भइरहेको जानकारी दिएका थिए । भोलिपल्ट साह सिरहा पुगेर निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरे। चार वर्षपछि पुराना एमाले सहकर्मीसँग अंकमाल गर्दै जुलुसमा सहभागी हुनु आफूका लागि भावनात्मक क्षण भएको साहले बताए ।

अहिले उनी नेकपाको कारबाहीमा परेका छन्। उनी नेपाली कम्युनिस्ट पार्टीबाटै टिकटका आकांक्षी थिए । टिकट नपाएपछि पार्टी छोडेर उनी सिरहा ४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

 

प्रकाशित: १० माघ २०८२ १२:५१ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast