मेलमिलाप दिवसमा शेखरको आह्वान : विवाद, मतभिन्नता र महत्त्वाकांक्षा त्यागौँ, निर्वाचनमा होमिऔँ

हिमाल प्रेस १६ पुष २०८२ ८:३८ | Wednesday, December 31, 2025
16
SHARES
मेलमिलाप दिवसमा शेखरको आह्वान : विवाद, मतभिन्नता र महत्त्वाकांक्षा त्यागौँ, निर्वाचनमा होमिऔँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले मेलमिलाप दिवसको अवसरमा विवाद, मतभिन्नता र महत्त्वाकांक्षा त्यागेर अघि बढ्नुपर्ने सन्देश जारी गरेका छन्। उनले राष्ट्रिय एकता र मेलमिलापले मात्र देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्ने सन्देशमा दाबी गरेका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘लोकतान्त्रिक आन्दोलनका हाम्रा श्रद्धेय नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू आजकै दिन ‘राष्ट्रिय मेलमिलापको’ सन्देश दिएर आठ वर्ष भारतको प्रवास जीवन त्यागी नेपाल फर्कनु भएको थियो। त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र खिचातानीबाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशील भूराजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्ण राख्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको बिपीको सन्देश थियो।’

‘आज पाँच दशक पछि फेरि विश्वमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू अगाडि आएको हामी अनुभव गर्दछौँ । यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता बीपीको विचारलाई फेरि एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ’, सन्देशमा उनले भनेका छन्।

राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्त्व आज कांग्रेस एक्लैको विषय नभएको उनले बताए । राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथि सार्वभौम सम्पूर्ण नेपालीहरूको जागरूक सतर्कता सहित ऐक्यबद्धताको खाँचो रहेको कोइरालाको भनाइ छ।

प्रकाशित: १६ पुष २०८२ ८:३८ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast