३८ वर्ष सेवा गरेका शिक्षकलाई हेलिकप्टरबाट बिदाइ

हिमाल प्रेस २४ मंसिर २०८२ ११:१४
104
SHARES
३८ वर्ष सेवा गरेका शिक्षकलाई हेलिकप्टरबाट बिदाइ

गोरखा- उत्तरी गोरखाको धार्चे-२, रुञ्चेतमा ३८ वर्ष निरन्तर सेवा गरेका शिक्षकलाई स्थानीयले हेलिकप्टर चढाएर बिदाइ गरेका छन्। गण्डकी माध्यमिक विद्यालय रुञ्चेतका संस्थापक शिक्षक तथा पूर्वप्रधानाध्यापक इन्द्र उपरकोटीलाई मंगलबार स्थानीय बासिन्दा, पूर्वविद्यार्थी र विद्यालय परिवारले औपचारिक समारोहसहित फूलमाला पहिर्‍याई बिदाइ गरेका हुन्।

उपरकोटीले २०४५ साल फागनु १९ गतेदेखि विद्यालयमा अध्यापन सुरु गरेका थिए। उनी प्राथमिक तहका शिक्षक भए पनि उनको नेतृत्व र पहलमा विद्यालय क्रमशः निमावि हुँदै दुई वर्षअघि मात्र माध्यमिक तहमा स्तरोन्नति भएको हो। विद्यालयले पहिलो पटक एसईई परीक्षा दिएको वर्षमै धार्चे गाउँपालिकाभित्र सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको वडा अध्यक्ष सरोज गुरुङले बताए।

‘उहाँ हाम्रो विद्यालयको संस्थापक प्रधानाध्यापक हुनुहुन्छ, सेवा पनि ३८ वर्ष पूरा भयो। त्यसैले पूर्वविद्यार्थी, विद्यालय समुदाय र स्थानीयले आर्थिक सहयोग जुटाएर सम्मानपूर्वक बिदाइ गरेका हौं,’ गुरुङले भने। स्थानीय र पूर्वविद्यार्थीले एक/एक हजारदेखि दुई/दुई हजार रुपैयाँका दरले रकम संकलन गरी हेलिकप्टर र जहाजको खर्च व्यहोरेका हुन्।

धार्चेजस्तो दुर्गम भूगोलमा लामो समयसम्म सेवा गरेका उपरकोटीलाई हेलिकप्टरमा गाउँबाट काठमाडौँ र त्यहाँबाट जहाजमार्फत भरतपुरसम्म पठाइएको वडा अध्यक्ष गुरुङले जानकारी दिए।

बिदाइ कार्यक्रममा धार्चे गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापक, आसपासका आधारभूत विद्यालयका शिक्षक, स्थानीय बासिन्दा तथा पूर्वविद्यार्थीको उल्लेख्य सहभागिता थियो। विद्यार्थी र गाउँलेहरू रोइरहेको अवस्थामा बिदाइ गरिएको शिक्षक रामपति गुरुङले बताए।

धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले उक्त क्षणलाई ऐतिहासिक तथा अविस्मरणीय भएको बताइन्। ‘हिजो भुइँ मान्छेलाई आकाशमा उड्न सिकाउने गुरु, आज आफ्नै विद्यार्थीहरूले आकाशमै उडाएर बिदाइ गरे,’ गुरुङले भनिन्, ‘यो दृश्यले हामी सबैलाई गर्व र आनन्दसँगै भावुक बनाएको छ।’

उनले गण्डकी माध्यमिक विद्यालयको स्थापना, शैक्षिक उत्थान, विद्यालय व्यवस्थापन, विद्यार्थीको भविष्य निर्माण तथा समुदाय सशक्तीकरणमा उपरकोटीले पुर्‍याएको योगदान इतिहासमा अमिट रहने उल्लेख गरिन्।

निवर्तमान प्रधानाध्यापक उपरकोटीको बिदाइसँगै धार्चेले एक समर्पित, त्यागी र प्रेरणादायी व्यक्तित्वलाई सम्मानपूर्वक सम्झिरहने उपाध्यक्ष गुरुङको भनाइ छ।

अप्रत्याशित सम्मान पाएर भावुक बनेका उपरकोटीले आफूले कर्तव्य मात्र पूरा गरेको भन्दै समुदायप्रति आभार व्यक्त गरे। ‘आज मैले नसोचेको, कतै नसुनेको सम्मान पाएँ। गाउँलेहरू मसँग यति खुसी र सन्तुष्ट रहेछन् भन्ने आज थाहा पाएँ,’ उनले भने।

गुरुङ र विश्वकर्मा समुदायको बसोबास रहेको रुञ्चेतमा शिक्षा क्षेत्र अन्योलपूर्ण अवस्थामा रहेको समयमा उपरकोटीले विद्यालयको स्थापना, विस्तार र शैक्षिक उत्थानका लागि महत्वपूर्ण भूमिका खेलेका थिए।

धार्चेको शैक्षिक इतिहासमा यो बिदाइ कार्यक्रम विशेष र अविस्मरणीय अध्यायका रूपमा रहने स्थानीयले बताएका छन्।

प्रकाशित: २४ मंसिर २०८२ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast